Techie IT
  • ५ वैशाख २०८२, शुक्रबार
KhojPatrika

फ्रान्समा दंगा अझै नियन्त्रणमा आउन सकेन, ६ सय ६० जना पक्राउ


काठमाडौं । फ्रान्समा गत मंगलबारदेखि भड्किएको दंगा अझै नियन्त्रणमा आउन सकेको छैन । गत मंगलबार फ्रान्सको राजधानी पेरिसको नान्तेरेमा १७ वर्षीय नाहेललाई प्रहरीले ट्राफिक सिग्नलमा रोक्न नसकेपछि गोली हानी हत्या गरेपछि फ्रान्समा दंगा भड्किएको हो । गोली चलाउने अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । सो घटनापछि फ्रान्समा हिंसा शुरु भएको हो । बुधवार अबेरदेखि पेरिसको सडकमा सयौं मानिसले प्रदर्शन गरिरहेका छन् । बीबीसीका अनुसार प्रदर्शनकारीहरूले धेरै भवन र कारमा आगजनी गरेका छन् र प्रहरीमाथि घरेलु बमसमेत प्रहार गरेका छन् ।

फ्रान्सको आन्तरिक मन्त्रालयले सडकमा २ हजार प्रहरी तैनाथ गरेको छ । कारमा आगजनी गर्ने, प्रहरीमाथि आतिशबाजी गर्ने र पसलमा तोडफोड गर्ने गरी हालसम्म ६६० जनाभन्दा बढी पक्राउ परेका छन् । गत मंगलबार दुई प्रहरी अधिकारीहरूले नान्तेरेको सडकमा पहेंलो कार रोके । झगडाका क्रममा प्रहरी अधिकृतले पेस्तोल निकालेर चालक नाहेलको टाउकोमा गोली हानेका थिए । चालकले कारलाई तीव्रता दिएका थिए जुन केही टाढा गएपछि दुर्घटनामा परेको थियो । उनको घटनास्थलमै मृत्यु भयो । सो घटनापछि फ्रान्सका राष्ट्रपतिले आकस्मिक बैठक बोलाएका छन् ।

राष्ट्रपति एम्मानुयल म्याक्रोनले घटनाले सिंगो देश स्तब्ध भएको भन्दै युवाको हत्यालाई कुनै तर्कले औचित्य नदिने बताएका छन् । फ्रान्सका सांसदहरूले बुधबार राष्ट्रिय सभामा एक मिनेट मौनधारण गरेका थिए । पीडित परिवारले घटनामा संलग्न अधिकारीविरुद्ध ज्यान मार्ने, सहयोग र दुव्र्यवहार गरेको आरोपमा उजुरी दिएका छन् । फ्रान्सका गृहमन्त्री गेराल्ड डारमनिनले प्रदर्शनकारीले देशभरका स्कुल, टाउन हल र प्रहरी स्टेशनलाई निशाना बनाएको बताएका छन् ।

फ्रान्सका मिडियाका अनुसार प्रहरीले सुरुमा प्रहरीलाई कारले ठक्कर दिने उद्देश्यले नजिक आएपछि गोली चलाउनुपरेको बताएको थियो । तर सो घटनाको भिडियोमा प्रहरीले गाडीको झ्यालबाट युवकलाई पेस्तोल ताक्दै नजिक गएको र गोली हानेको देखिएको छ । समाचार एजेन्सी एएफपीले भिडियो फुटेजको सत्यता पुष्टि गरेको छ । फ्रान्सका राष्ट्रपति इम्मानुयल म्याक्रोनले प्रहरीले त्यसरी गोली चलाएको घटना माफीयोग्य नभएको बताएका छन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार प्रहरीको गोलीबाट मारिने युवक फ्रान्सिसी–अल्जेरियाई मूलको परिवारका सदस्य हुन् । सन् २०१७ देखि हालसम्म फ्रान्समा प्रहरीको गोलीबाट मारिनेहरु अधिकांश काला जातिका या अरब मुलका रहेका रोयटर्सले जनाएको छ । गतवर्ष फ्रान्समा ट्राफिक नियम उल्लंघनको घटनामा १३ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विदेश, समाचार
ट्याग : #फ्रान्समा दंगा

तपाईको कमेन्ट लेख्नुहोस्