Techie IT
  • ६ वैशाख २०८२, शनिबार
KhojPatrika

मन्त्री फिर्ता बोलाउने किन आयो गगनको प्रस्ताव ?


काठमाडौं । सरकारका पछिल्ला गतिविधिले नेपाली कांग्रेसको एउटा खेमा असन्तुष्ट छ । नेता डा.शेखर कोइराला लगायतका नेताहरु पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार नै फेरबदल गर्नुपर्ने सार्वजनिक कार्यक्रममा बताउदै आएका छन् । कोइराला त सभापति देउवालाई नै प्रधानमन्त्री बनाउनुपर्ने अभिब्यक्ति दिइरहेका छन् । तर, सभापति शेरबहादुर देउवा र उनी निकट नेताहरु सरकारको विकल्प खोज्न नमिल्ने बताइरहेका छन् । किनकि आलोपालो सरकारमा कांग्रेसले भाग पाउने पक्का छ । त्यसैले पनि देउवा निकट नेताहरुले सरकारको बिरोध गर्ने गरेका छैनन् । तर, आइतबारको एक कार्यक्रममा फेरि महामन्त्री गगनकुमार थापाले कांग्रेसले आफ्नै मन्त्रीहरु फिर्ता बोलाउनुपर्ने प्रस्ताव अघि सारेका छन् ।

कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा भएका कांग्रेसका सबै मन्त्रीहरु फिर्ता बोलाउन प्रस्ताव गरे । कांग्रेस रुपान्तरण अभियान बागमतीको विचार गोष्ठीलाई सम्बोधन गर्दै अहिलेको दुई वर्ष सरकार बाहिरै बसेर समर्थन गर्न प्रस्ताव गरेका हुन् । उनले भने, ‘गठबन्धनको राजनीतिमा पनि नयाँ छलफल गरौं । गठबन्धन बन्नसक्छ । उहाँले उहाँहरु गठबन्धनमा हुनुहुन्छ मोर्चा बनाउनुभएको छ । दुई अडाईबर्ष उहाँहरुले सरकार चलाउने भन्ने सहमति भएको छ ।

पहिला प्रचण्डजी, त्यसपछि माधव नेपाल प्रधानमन्त्री बन्ने भन्ने छ । उहाँहरु एउटै मोर्चा पार्टी पनि एउटै बनाउने भन्नुभएको छ । मलाई लाग्छ कांग्रेसको सबै मन्त्रीहरु फिर्ता बोलाऔं । उहाँहरुलाई एक्लै चलाउँन दिऔं। हामी बाहिर बसेर समर्थन गरौं ।’ सहमतिअनुसार प्रचण्डजी वा माधव नेपाल जो प्रधानमन्त्री भएपनि मोर्चालाई सरकार चलाउन दिने उनले बताए ।

मोर्चापछि कांग्रेसको भागमा परेको बेलामा मोर्चाको समर्थनमा कांग्रेस एक्लैले चलाउन पाउनुपर्ने उनको भनाइ छ । त्यसो गर्दा आआफ्नो सरकारको बेलामा भएको जस अपजस आआफ्नै पार्टीले पाउने उनको भनाई छ । उनले संघमा मात्रै नभएर प्रदेशमा पनि गठबन्धनभित्र नयाँ ढंगबाट जानुपर्ने बताए। आगामी निर्वाचनमा कांग्रेसले कसैसँग गठबन्धन नगर्ने प्रष्ट पारे । महामन्त्री थापाले मन्त्री फिर्ता बोलाउने प्रस्ताव गरेपनि निर्णय हुने भने अवस्था देखिदैन ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #डा.शेखर कोइराला, #नेपाली कांग्रेस, #पुष्पकमल दाहाल प्रचण्ड

तपाईको कमेन्ट लेख्नुहोस्