Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिंदै, बहमुत पाउने आशा झिनो


काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने तयारी गरेका छन् । विश्वासको मत लिने प्रयोजनका लागि दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको छ । संविधानको धारा १६८ को ३ अनुसार बनेको सरकारले विश्वासको मत पाउने सम्भावना छैन । किनकि विगतमा एमालेसँगै गठबन्धनमा रहेको राप्रपा सरकारमा छैन ।

कांग्रेस–माओवादीसहित बहुमत सदस्य रहेको गठबन्धन मुख्यमन्त्री कार्कीको विपक्षमा छ । नेकपा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारी विश्वासको मतका लागि अन्तिम समयसम्म प्रयास गर्ने बताएका छन् । सरकारसँग विश्वासको मत फेस गर्ने र राजीनामा दिने दुई वटै विकल्प रहेको बताउँदै उनले परिस्थिति हेरेर अघि बढ्ने जिकिर गरे ।

वर्तमान सरकारले विश्वासको मत नपाए धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनका लागि आहृवान हुनेछ । उपधारा ५ अनुसार नेतृत्वमा एमालेले पनि दाबी गर्ने बताएको छ । कांग्रेस नेतृत्वको प्रतिपक्षी गठबन्धन पनि उपधारा ५ अनुसार सरकार गठनको गृहकार्यमा जुटेको छ । संवैधानिक व्यवस्था फरक भए पनि सांसद दलीय भएका कारण उपधारा ५ मा गठबन्धन दलको निर्णय अनुसार अगाडि बढ्ने नेताहरुले बताएका छन् ।

उपधारा ५ अनुसार सरकारको नेतृत्व गर्न नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा र इतर समूहका नेता केदार कार्की दाबेदार छन् । ९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । सभामुखविहीन भएको प्रदेशमा एमालेसँग कार्यबहाक सभामुख बाहेक ३९ जना सांसद छन् ।

कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादी पार्टीका ४ र जसपाका एक गरी बहुमत संख्या प्रतिपक्षमा छ । ६ सांसद रहेको राप्रपा तटस्थ देखिएको छ । राप्रपा सहभागी भए कांग्रेस नेतृत्वको गठबन्धनसँग ५३ मत पुग्नेछ । उपधारा ५ अनुसार गठन हुने सरकारले विश्वासको मत नपाए ६ महिनाभित्र मध्यवधि निर्वाचन हुनेछ ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #कोशी प्रदेश, #धारा १६८ को उपधारा, #विश्वासको मत, #संविधानको धारा

तपाईको कमेन्ट लेख्नुहोस्