Techie IT
  • ६ वैशाख २०८२, शनिबार
KhojPatrika

अव माइतीघरदेखि बानेश्वरसम्म आन्दोलन गर्न नपाइने, लगाइयो निषेधाज्ञा !


काठमाडौं । मंसिर ७ गते काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गर्ने भन्दै प्रचार–प्रसार गरिरहेका युवा संघ र दुर्गा प्रसाईँलाई धक्का लागेको छ । दुबै पक्षले आन्दोलन माइतीघर एकै ठाउँ एकै समय गर्ने अडान लिएका थिए । तर, शान्ति सुरक्षामा खलल पुग्ने भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले सो स्थानमा प्रदर्शन गर्न नदिने निर्णय गरेको छ ।

मंसिर ७ गते भिड्ने योजना बुन्दै प्रचार–प्रसारमा हिडिरहेका नेकपा एमालेका नेता महेश बस्नेत र दुर्गा प्रसाईँलाई एकै ठाउँमा कार्यक्रम गर्न रोक लगाइएको छ । जनजिविका र सरकारको काम कारवाहीमाथि खबरदारी गर्ने भन्दै युवा संघको आन्दोलनको नेतृत्व गरेका महेश बस्नेत र ब्यवस्थाबिरुद्ध नै बोल्दै राजतन्त्र पुर्नस्थापना गर्ने नारासहित सर्वसाधारण उतार्न खोजेका दुर्गा प्रसाईँको सार्वजनिक कार्यक्रम होस् या सञ्चारमाध्यममा दिएका अभिब्यक्तीले लड्ने, भिड्ने र एकले अर्कोको कार्यक्रम बिथोल्ने नै उदेश्य देखाउछ ।

बस्नेत र प्रसाईँको धम्की र घुर्कीले काठमाडौं उपत्यकामा जहाँ कार्यक्रम भएपनि जनजिवन प्रभावित हुने निश्चित छ । एकले अर्कोलाई शक्ति देखाउने नाममा जनता नै उतारेर भिडाउने रणनितिमा बस्नेत र प्रसाईँ लागेको देखिन्छ । मेडिकल व्यवसायी प्रसाईं नेतृत्वले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानमा देशभरबाट सर्वसाधारण उतार्ने तयारी गरिरहेका छन् । उनको आक्रोश सत्तामा बसेका र प्रतिपक्ष दलसँग भएपनि सबैभन्दा तारो महेश बस्नेतलाई बनाइएको छ ।

दुबैले माइतीघरमा आन्दोलन गर्ने गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका थिए । तर, सो निवेदनबारेको छलफलमा दुबैलाई माइतीघरमा आन्दोलन गर्न नदिने निर्णय भएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्य बताउछन् । मंसिर ७ गते नै आन्दोलनको घोषणा गरेका दुबै पक्षलाई प्रशासनले निश्चित स्थान तोक्ने गरी तयारी गरिरहेको छ ।

आन्दोलनमा हुने घुसपैठ र आगजनी र झडप हुने आकलन गरी गृहमन्त्रालयले समेत आइतबार तीनै जिल्लाका सिडियोसँग छलफल पनि गरेको थियो । निश्चित ठाउँ तोकेर माइतीघरमा निषेध गर्ने रणनिति प्रशासनले लिएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले या एकले कार्यक्रम स्थगित गर्न वा आफुले भनेको ठाउँमा कार्यक्रम आयोजना गर्न विकल्प दिएको छ । तर, दुबैको अडान माइतीघरमै सर्वसाधारण उतार्ने छ ।

यहाँ आफ्नो कार्यक्रम सफल बनाउने भन्दा पनि एकले अर्कोको कार्यक्रम विथोल्ने योजना बनाइरहेको देखिन्छ । बस्नेत ब्यवस्था बचाउन र प्रसाईँ ब्यवस्था नै सिध्याउने धम्की, चेतावनी र आलोचना गर्न खप्पीस देखिएका छन् । हिजोसम्म आ–आफ्ना एजेण्डा थिए होलानन् तर, आज आएर शक्ति प्रदर्शनका नाममा जनता भिडाउने र आफू लुक्ने रणनिति दुबैले बनाइरहेका छन् ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #दुर्गा प्रसाई, #प्रचार–प्रसार, #माइतीघरदेखि बानेश्वर

तपाईको कमेन्ट लेख्नुहोस्