Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

रुसी सेनामा २ सय नेपाली रहेको प्रधानमन्त्री प्रचण्डद्धारा जानकारी,केही युक्रेनको कब्जामा !


काठमाडौं । नेपाल सरकारले युद्धग्रस्त मुलुकमा नजान सचेत गराउँदा गराउँदै पनि, विभिन्न प्रलोभनमा परी नेपालीहरु रुस पुग्ने गरेका छन् । केही साता अघिमात्रै रुसी सेनामा भर्ती भएका ६ जना नेपालीको मृत्यु भएपछि, अवैध रुपमा नेपालीहरु रुसी सेनामा भर्ती हुने गरेको खुलेको थियो । तर, नेपाल सरकारसँग रुसी सेनामा कति नेपाली छन् भन्ने यकिन तथ्याङक नै थिएन । यसले नेपालको परराष्ट्र नीति नै कमजोर रहेको भन्दै आलोचना भइरहेको अवस्थामा सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुसी सेनामा २ सय नेपाली रहेको औपचारिक रुपमा पुष्टि गरेका छन् ।

रुसी सेनामा भर्ती भएका ६ नेपालीको मृत्युको खबर आएपछि, रुसी सेनामा कति नेपालीहरु छन् भन्ने तथ्यांक नेपाल सरकारसंग पनि नभएको भन्दै सरकारको आलोचना हुँदै आएको थियो । सरकारले युद्धग्रस्त मुलुकमा नजान सचेत गराउँदा पनि नेपाली युवाहरू आकर्षक तलब र रुसी नागरिकता पाइने आशामा दलालमार्फत लाखौं रकम बुझाई अवैध रुपमा रुसी सेनामा होमिने गरेको खुलेको थियो । रुस युक्रेन युद्धमा मृत्यु भएका र बन्धक बनाइएका नेपालीहरुको विषयमा औपचारीक रुपमा बाताउँदै प्रधानमन्त्री पुष्पकमल दाहालले रुसी सेनामा भर्ती हुने नेपालीहरूको सङ्ख्या २ सय रहेको औपचारीक जानकारी आएको बताए ।

सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा प्रेस सेन्टर नेपालका पदाधिकारीको बैठकलाई सम्बोधन गर्दै अहिले उनीहरूको अनुसन्धान र खोजी कार्य भइरहेको दाबी गरे । परराष्ट्र मन्त्रालयले मंसिर १९ गते विज्ञप्ती जारी गर्दै रुसी सेनाका तर्फबाट युक्रेनसँग युद्ध लड्न जाँदा मृत्यु भएका ६ जना नेपालीको शव पठाउन र पीडित परिवारलाई दिन अनुरोध गरेको थियो । मृत्यु हुनेमा गोरखाका सन्दीप थपलिया, कपिलवस्तु वाणगंगा नगरपालिका–१ का रुपक कार्की, कास्की पोखराका देवान राई, स्याङ्जाको पुतलीबजार नगरपालिका–५ का प्रितम कार्की, मेलुङ गाउँपालिका–६ दोलखाका राजकुमार रोका र इलाम नगरपालिका–५ इलामका गंगाराज मोक्तान छन् । यसअघि पनि चार जना नेपालीको रुसी सेनामा भर्ती भएर मृत्यु भएको सार्वजनिक भएको थियो ।

परराष्ट्र मन्त्रालयले विज्ञप्तिमा नेपालले रुसी सेनामा नेपाली नागरिकलाई भर्ना नलिन र कुनै नेपाली नागरिकलाई भर्ना गरेको भए तत्काल नेपाल फर्काउन समेत रुसी सरकारलाई अनुरोध गरिसकेको छ । नेपालीहरु युद्धग्रस्त रुसी सेनामा संलग्न हुनु, मृत्यु पश्चात मात्र खबर आउनु र रुसी सेनामा अबैध रुपमा नेपाली भर्ती रोक्न नसक्नुमा सरकारको कमजोरी भएको जानकारहरुको भनाई छ । नेपाल प्रहरीले नेपालीलाई रुसी सेनामा पठाउने गिरोह नै संलग्न भएको र यसमा नेपालस्थित रुसी दुतावासकै कर्मचारीको संलग्नता रहेको बताएको छ । प्रहरीले गिरोहमा संलग्न १२ जना पक्राउ समेत गरिसकेको छ ।

अवैध रूपमा नेपालीलाई रुस पठाउने प्रमुख एजेन्ट पूर्वसुरक्षाकर्र्मीसमेत रहेका उदयपुरका ४२ वर्षीय हरिबहादुर विश्वकर्माले हालसम्म १८ जनालाई रुस पठाइसकेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । गिरोहले नेपाली युवाबाट प्रतिव्यक्ति ७ देखि १० लाख लिएर रुस पु¥याउने गरेका थिए । गिरोहले भिजिट भिसा लगाएर नेपालबाट भारत हुँदै रुसको सैनिकमा भर्ना हुने र राम्रो आम्दानी हुने भन्दै प्रलोभन दिने गरेका थिए ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #अवैध रुपमा रुसी सेना, #नेपालीहरु रुस, #प्रधानमन्त्री प्रचण्ड, #युद्धग्रस्त मुलुक

तपाईको कमेन्ट लेख्नुहोस्