Techie IT
  • १० वैशाख २०८२, बुधबार
KhojPatrika

शान्ति सुरक्षामा कहाँ चुक्यो नेपाल प्रहरी, किन हुन थाल्यो सधैं आलोचना !


काठमाडौं । पछिल्लो पटक नेपाल प्रहरीले संयमता नपनाउँदा पटक–पटक आलोचना खेप्नु परेको छ । केही घटनामा बढी बल प्रयोग गर्नु त केही घटनामा नदेखे जस्तो गर्नुले प्रहरीको आलोचना हुने गरेका छन् । यसलाई प्रहरीले भने स्रोत साधनको अभावले केही समस्या उत्पन्न भएको भन्दै आफू पन्छिन खोजेको देखिन्छ । एकताका नेपाल प्रहरीको एउटा नारा खुबै चर्चामा आयो । त्यो हो प्रहरी मेरो साथी । प्रहरीका केही गतिविधिले जनता त्रसित भएपछि यो नारा शहर बजार मात्रै होइन गाउँ गाउँमा समेत प्रचार–प्रसार गरियो ।

प्रहरी र जनताको सम्बन्धि प्रगाढ गराउन दिइएको यो नारा प्रहरीका पछिल्ला घटनाक्रमले अनेकौं प्रश्न उब्जाइदिएको छ । गत वर्षको फागुन १ गते काठमाडौंको गोंगबुमा प्रदर्शनकारीले प्रहरीकै गाडी जलाइदिए भने ल्होत्से मलमा लुटपाट गरे । देशको राजधानीमै लुटपाट गरिँदा र प्रहरीको गाडीमै आगजनी हुँदा पनि सुरक्षामा चुकेको भन्दै प्रहरी आलोचित भयो । केही प्रहरी अधिकारी कारबाहीमा पनि परे । त्यस्तै, शुक्रबार ललितपुरको बालकुमारी–ग्वार्को क्षेत्रमा अर्को घटना भयो ।

दुवै घटनाको समानता के छ भने दुवै प्रदर्शनको नेतृत्व कोही थिएन । गोंगुबमा यातायातका मजदुरले स्वस्फूर्त रूपमा प्रदर्शन गरेका थिए भने बालकुमारीमा कोरिया जाने परीक्षा दिन नपाएका युवा भड्किएर आन्दोलनमा उत्रिएका थिए । कुनै पनि व्यक्तिले नेतृत्व नगरेको आन्दोलन जतिसुकै वेला भड्किएर हिंसात्मक बन्न सक्छ भन्ने विश्लेषण गर्न नसक्दा दुवै घटनामा प्रहरी चुकेको देखिन्छ । गोंगबुको घटनामा समयमै बल प्रयोग नगर्दा प्रहरी आलोचित बनेकोमा शुक्रबार भने अत्याधिक बल प्रयोग गरेकोमा प्रहरीमाथि छानबिन भइरहेको छ ।

आन्दोलनमा प्रहरीले बल प्रयोग गर्दा दुई युवकले ज्यान गुमाए भने भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगो लगाइयो । घटनाको विषयमा छानबिन गर्न सोमबार सरकारले उच्चस्तरीय छानविन आयोग समेत गठन भएको छ । विगतमा पनि भिड नियन्त्रणमा प्रहरी बारम्बार चुक्दै आएको छ । यस्ता घटनामा प्रहरी किन चुक्छ भन्दा साधन स्रोतको अभाव उसले एउटा कारण सधैं दर्शाउने गरेको छ ।

गत असोजमा पोखराको मणिपाल अस्पतालमा आन्दोलन हुँदा प्रहरीले चिकित्सकमाथि निर्मम कुटपिट ग¥यो । इन्स्पेक्टर मदन श्रेष्ठले अस्पतालभित्रै चिकित्सकमाथि कुटपिट गरेको भिडियो नै बाहिरियो । बिरामीको मृत्यु भएपछि आन्दोलन भइरहेको अवस्थामा प्रहरीले आन्दोलनकारीलाई खुसी बनाउन चिकित्सकमाथि बल प्रयोग गरेको थियो । जुन घटनामा इन्स्पेक्टर श्रेष्ठलाई निलम्बन गरी छानबिन चलिरहेको छ । सो घटनापछि देशभरका चिकित्सकले आन्दोलन समेत गरेका थिए  ।

गत साउन तेस्रो साता काठमाडौंको टेकुमा प्रहरी कार्यालय घेराउ गर्न गएका व्यक्तिमाथि पनि अत्यधिक बल प्रयोग गर्दा प्रहरी विवादमा प¥यो । गत वैशाखमा मिटरब्याजपीडितमाथि रत्नपार्कमा प्रहरीले निर्मम कुटपिट गरेपछि गृहमन्त्रीले नै माफी माग्नुप¥यो । माइतीघर–बानेश्वर क्षेत्रमा हुने प्रदर्शनमा पनि पटक–पटक प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग हुने गरेकोमा प्रहरी विवादमा पर्दै आएको छ  ।

फिल्डमा खटिने प्रहरीको आत्मविश्वासमा कमी हुँदा पनि कहिलेकाहीँ अनावश्यक बल प्रयोग हुन सक्ने र फिल्डमा स्पष्ट आदेश र उच्च मनोबलका साथ खटाउने वातावरण बनाउनुपर्ने नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर बताउछन् । राजनीतिक कारणले नै समाजमा वितृष्णा बढ्दै गएको र त्यो असन्तुष्टि सडकमा पोखिने भएकाले आगामी दिनमा प्रहरीलाई भिड व्यवस्थापनमा थप चुनौतीपूर्ण बन्दै जाने र समयमै समन्वय नहुँदा पनि कतिपय घटनामा बढी क्षति हुने गरेको सर्वसाधरण बताउछन् ।

कतिपय अवस्थामा अन्य निकायसँग समन्वयको अभावले पनि क्षति हुने गरेको छ । भिड नियन्त्रणमा प्रहरीलाई सहयोग गर्न अर्धसैन्य संरचनाको सशस्त्र प्रहरी बल हरेक जिल्लामा खटिएको छ । तर, समयमै समन्वय नहुँदा पनि कतिपय घटनामा बढी क्षति हुने गरेको छ । जसका कारण प्रहरीमाथि अनेकौं प्रश्न पटक–पटक उठ्दै आएका छन् ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #नेपाल प्रहरी

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं