आज भूकम्प सुरक्षा दिवस मनाइँदै

काठमाडौं । आज भूकम्प सुरक्षा दिवस मनाइँदै छ । १९९० सालको विनासकारी भूकम्पबाट पाठ सिकेर सुरक्षित आवास निर्माण र सम्भावित भूकम्पीय जोखिम न्यूनीकरणबारे समाजिक सचेतना अभिवृद्धि गर्न दिवस मनाउन लागिएको हो ।
भूकम्पले क्षति पुर्याएका संरचनाको पुनः निर्माण र भूकम्पको जोखिम न्यूनीकरणका लागि सरकार, सरोकारवाला निकाय र संघसंस्थाले दिवसलाई जागरण फैलाउन दिनका रूपमा मनाउने गर्छन् ।
मंगलबार ‘स्थानीय स्रोत र प्रविधि समेतको प्रयोग गरौं, भूकम्प थेग्ने संरचना बनाऔं’ भन्ने मूल नाराका साथ २६ औं भूकम्प सुरक्षा दिवस मनाउन लागिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
चन्द्रागिरी नगरपालिकामा भूकम्प सुरक्षा दिवस मूल समारोह हुने र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरिक हुने प्राधिकरणले जनाएको छ । विसं १९९० माघ २ गते गएको विनाशकारी भूकम्पको संझनामा २०५५ सालदेखि हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाइँदै आएको छ । उक्त दिन दिउँसो २ः२४ बजे गएको ८.४ म्याग्निच्युडको भूकम्पले जनधनको ठूलो क्षति पुर्याएको थियो ।
विस १९९० को भूकम्पमा परी आठ हजार पाँच सय १९ जनाको मृत्यु भएको थियो । ८० हजार घर ध्वस्त भएका थिए । ध्वस्तघरसहित घर, विद्यालय, देवालय र पार्टीपौवा तथा सार्वजनिक भवनसमेत गरी २ लाख ७ हजार दुई सय ४८ संरचना भत्किएको थियो ।
यसैगरी विसं २०७२ बैशाख १२ गतेको गोरखाभूकम्पमा परी आठहजार छ सय ७० जनाको निधन भएको थियो भने सातलाख भन्दा वढी आवासमा क्षति पुगेको थियो । हालसालै जाजरकोटमा गएको भूकम्पले पनि मानवीय र भौतिक क्षति गरेको थियो ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #आवास निर्माण, #भूकम्प सुरक्षा दिवस, #संरचनाको पुनः निर्माण
तपाईको कमेन्ट लेख्नुहोस्