प्रधानमन्त्री प्रचण्डको फेरिएन कार्यशैली, वाचा तोडेर २० दिनमै गरे २० उद्घाटन !

काठमाडौं। पुस १० गते सरकारको एक वर्षे समीक्षामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भनेका थिए – केही पूर्व निर्धारित र अपरिहार्यबाहेक कुनै पनि कार्यक्रममा नगई नयाँ नीति तथा कार्यक्रम र बजेटको तयारीमा अव लाग्ने छु। सरकारले सोचेजस्तो काम गर्न नसकेको अव नयाँ धक्का दिने उद्घोष समेत गरेका थिए । तर, प्रधानमन्त्री प्रचण्डलाई एकैदिन तीन/चार वटा कार्यक्रम उद्घाटन गरिरहेका छन् । माघ १ गते माघी पर्वकै दिन प्रधानमन्त्री प्रचण्डले राजधानी र जिल्लामा गरी चार वटा कार्यक्रममा सहभागि भएका छन् ।
तेस्रो कार्यकालको महत्वपूर्ण समय प्रचण्डले सानातिना कार्यक्रममा गएर खेर फालिरहेका छन्। उद्घाटनमा नजाने वाचा गरेको २० दिनमा उनले २० उद्घाटन गरेका छन्। उद्घाटनमा नजाने घोषणा गरेकै दिन प्रचण्डले वसन्तपुरमा आयोजित २०औं राष्ट्रिय ज्यापू दिवसको उद्घाटन गरे। उद्घाटनपछि मात्रै सिंहदरवारमा पुगेर प्रचण्डले सम्बोधन गरेका थिए । अघिल्लो दिन सानातिना कार्यक्रममा गएर समय खेर नफाल्ने बताएका प्रचण्ड भोलिपल्टै पुस ११ गते गोरखाको सुलिकोटमा माओवादी केन्द्रले आयोजना गरेको अन्तक्रिया उद्घाटन गर्न पुगे। सेनाको हेलिकोप्टर पृष्ठभूमि पारेर नातेदारसँग खिचाएको तस्विर सार्वजनिक भएपछि प्रचण्डको आलोचना समेत भएको थियो ।
पुस १३ गते प्रधानमन्त्री दोलखा पुगे। दोलखा उद्योग वाणिज्य संघको आयोजनामा भएको १० दिने दोलखा महोत्सवको उद्घाटन गरे। पुस १४ गते प्रधानमन्त्री प्रचण्ड काठमाडौंमा आयोजित संयुक्त ट्रेड युनियनको कार्यक्रम उद्घाटनमा पुगेका थिए । उनले त्यहाँ ट्रेड युनियनका माग सम्बोधन गर्ने आश्वासन दिएका थिए।
पुस १५ गते उनी काठमाडौंको टुडिखेलमा आयोजित तमू (गुरुङ) समुदायको ल्होसार उद्घाटन गर्न पुगे । पुस १६ गते नेपाली कांग्रेसले पार्टी कार्यालय सानेपामा प्रचण्डले राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा आयोजना गरेको अन्तक्रियाको पनि उद्घाटन गरे । पुस १७ गते उनी कान्तिपुरले आयोजना गरेको एजुकेशसन समिटमा पनि पुगे ।
प्रचण्डले पुस १८ गते १६ औं राष्ट्रिय इञ्जिनियर सम्मेलनको उद्घाटन गरे । प्रचण्ड त्यही दिन ललितपुरमा आयोजित भूकम्प प्रभावित क्षेत्रमा विपद व्यवस्थापन तथा पुनर्निर्माणसम्बन्धी अन्तरक्रियामा सहभागी भए । पुस १८ गते सिंहदरबारमा आयोजित ‘दिगो विकासको वर्तमान अवस्था र भविष्य’ कार्यक्रमको पनि प्रचण्डले उद्घाटन गरेका थिए। प्रचण्ड पुस १९ गते रामेछापको सुनापति गाउँपालिकाको भवन उद्घाटनमा पुगे।
पुस १९ गते रामेछाप पुगेका प्रचण्डले त्यहीँ बेथान पानीघाटमा स्थापना गरिएको सहिद स्तम्भको पनि उद्घाटन गरे । पुस २३ गते प्रचण्ड माओवादी केन्द्रले काठमाडौंमा आयोजना गरेको बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेशको समीक्षा बैठकको उद्घाटन गर्न नाचघर पुगे । प्रचण्डले पुस २७ गते काठमाडौंमा चौथो राष्ट्रिय वादोरियो खुला कराते प्रतियोगिताको उद्घाटन गरेका थिए। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पृथ्वी जयन्तीका अवसरमा भृकुटीमण्डपमा पुस २७ गते आयोजना गरेको चियापानमा पनि प्रचण्ड सहभागी भए ।
पुस २७ गते नै प्रचण्डले माओवादी केन्द्रको स्थायी समिति बैठक सञ्चालन गरे । प्रचण्डले पुस २९ गते काठमाडौंमा आयोजित चिनीयाँ नयाँ वर्षको अवसरमा सांस्कृतिक महोत्सव उद्घाटन गरे । माघ १ गते त प्रधानमन्त्री प्रचण्डले एकै दिन चार कार्यक्रममा सहभागि भए । काठमाडौंको सिंहदरबारमा मेलम्चीको पानीको आठौंपटक उद्घाटन गरे । प्रचण्ड दिउँसो अर्घाखाँचीको सन्धिखर्कमा आयोजित महोत्सवको उद्घाटन गरे ।
माघीका अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित थारु समुदायको माघी महोत्सवको उद्घाटन गरे । थारु समुदायको माघीमा सहभागी भएका प्रचण्ड मगर समूदायको माघीमा पनि सहभागी भएका थिए । प्रधानमन्त्रीले सानातिना उद्घाटन र कार्यक्रममा समय खेर फाल्दा सरकारले प्रभावकारी काम गर्न नसकेको गुनासो बढिरहेको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #एकैदिन तीन÷चार वटा कार्यक्रम उद्घाटन, #पुष्पकमल दाहाल प्रचण्ड, #पुस १० गते सरकारको एक वर्षे
तपाईको कमेन्ट लेख्नुहोस्