रुकुम पश्चिमको चौरजहारीमा पुर्ननिर्माण सम्बन्धि अन्तरक्रिया

काठमाडौं । रुकुम पश्चिमको चौरजहारीमा पुनर्निर्माण सम्बन्धी अन्तरक्रिया भएको छ । चौरजहारी नगरपालिकाको आयोजनामा राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोख्रेल समेतको सहभागितामा जिल्लाको चौरजहारीमा जनप्रतिनिधि र सरोकारवालाहरूसँग अन्तरक्रिया भएको हो । भूकम्पले क्षति गरेका संरचना र तिनको पुनर्निर्माणका लागि छलफल तथा सुझाव सङ्कलन गर्ने गरी कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा जनप्रतिनिधि, सरोकारवाला तथा भूकम्प प्रभावितहरूको सहभागिता रहेको थियो । कार्यक्रममा पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य जनार्दन शर्मा प्रभाकरले तत्कालै पुनर्निर्माण सम्बन्धी मापदण्ड आवश्यक रहेको बताए । यसमा गम्भीर हुन उनले प्राधिकरणलाई आग्रह गरे । मापदण्डसँगै पुनर्निर्माणका लागि दिइने अनुदान बारे निर्णय हुनुपर्ने उनले बताए । २०७२ सालको अनुदानले नपुग्ने भन्दै त्यति बेलाको भन्दा दोब्बर अनुदान आवश्यक रहेको उनको भनाई छ ।
भूकम्प प्रभावितलाई सहुलियत ऋण, सिकर्मी डकर्मीलाई तालिम जस्ता कार्यक्रमहरू पनि तत्कालै ल्याउन उनले आग्रह गरे । उनले स्थानीय मौलिकतामा आधारित पुनर्निर्माण गर्न आवश्यक रहेको बताए । घर मात्र बनाउनु पुनर्निर्माण होइन डोको र पोको राख्ने गरी पुनर्निर्माण गरिनुपर्छ, हाम्रा सार्वजनिक सम्पदाहरू विद्यालय, स्वास्थ्य संस्था, खानोपानी आयोजना लगायतमा पनि क्षति पुगेको छ, ती संरचनाको पनि पुनर्निर्माण गरिनुपर्छ उनले भने ।
अबको पुनर्निर्माण वातावरण मैत्री र हाम्रो संस्कारसँग मिल्दोजुल्दो हुनुपर्नेमा उनको जोड छ । कार्यक्रममा राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोख्रेलले अस्थायी आवासका लागि दोस्रो किस्ता एक हप्ता भित्रमा निकासा हुने बताए । त्यस्तै अहिलेको अवस्था र भौगोलिकतालाई समेत मध्यनजर गरेर पुनर्निर्माणका लागि अनुदान प्याकेज ल्याउने गरी छलफल चलिरहेको उनले बताए । जनताको आवश्यकताका आधारमा पुनर्निर्माण गर्ने गरी नीति निर्माणको क्रममा रहेको उनले जानकारी दिए ।
भूकम्प प्रभावितले दोस्रो किस्ता र नयाँ घर निर्माणका लागि मापदण्ड तथा पाइने रकम बारे तत्काल निर्णय गर्न माग गरेका थिए । चौरजहारी नगरपालिका वडा नम्बर ४ को विजयश्वरी, वडा नम्बर १२ को जुम्ली पोखरी गरी दुई ठाउँमा अन्तरक्रिया कार्यक्रम भएको हो । नगर प्रमुख पुष्प वादीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले गरेका थिए । जिल्लाका आठबिसकोट, सानीभेरी लगायतका ठाउँमा यसअघि नै अन्तरक्रिया भएका छन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
तपाईको कमेन्ट लेख्नुहोस्