रित्ता गाग्री बोकेर रवि लामिछानेसहित रास्वपाका सांसद मेलम्चीमा (भिडियोसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले मेलम्ची बजारमा २१ वटा रित्ता गाग्री प्रदर्शन गर्दै आइतबार सिन्धुपाल्चोकबाट राष्ट्रव्यापी दबाब अभियान सुरु गरेको छ । बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको नजिकै कार्यक्रम गरेर रास्वपाले अभियान थालनी गरेको हो ।
समस्याग्रस्त २१ विकासे आयोजनामा पुगेर समस्या समाधानार्थ सरकारलाई दबाब दिन अभियान थालेको रास्वपाले रित्ता गाग्रीमा मेलम्ची पानी भर्न आएको सन्देश स्वरुप गाग्री प्रदर्शन गरेको जनाएको छ।संघीय संसद्मा पार्टीबाट प्रतिनिधित्व गर्ने सबै २० सांसद मेलम्चीमा उतारेको रास्वपाका नेताहरुले मेलम्ची खानेपानी आयोजना ‘भ्रष्टाचारको अखडा’ बनेको आरोप लगाएका थिए ।
रास्वपा सभापति रवि लामिछानेले ६२ अर्ब रुपैयाँ खर्च भएको आयोजना पूरा हुन नसक्नु र समस्या निम्तिरहनुमा पर्याप्त अध्ययन नभएको जिकिर गरे । हेलम्बु–मेलम्ची क्षेत्रका स्थानीयले आयोजनाबाट २० प्रतिशत रोयल्टी पाउनु पर्ने भन्दै लामिछानेले रास्वपा त्यसको सुनिश्चितताको पक्षमा उभिने बताएका थिए ।
उपसभापति तथा सांसद डा. स्वर्णिम वाग्लेले मेलम्ची आयोजना ‘भ्रष्टाचारको जननी’ को रुपमा देखिएको आरोप लगाए । अर्बौँ खर्च भएको आयोजना निकम्मा अवस्थामा पुगेको तर्क गर्दै उनले ढिलासुस्ती र ऋणमाथी ऋण थुपारिएको, नियुक्तिमा किनबेच गरेर भ्रष्टाचार गरेका कारण मेलम्ची पुरा हुन नसकेको दाबी गरे ।
मेलम्ची बजारबाट पैदलै हिँडेर आयोजनाको मुहानस्थल हेलम्बु र दुई वर्षअघि आयोजना र तल्लो तटीय क्षेत्रमा व्यापक भौतिक क्षति पुर्याउने गरी निम्तिएको भ्रेमाथाङ पहिरोसम्म पुग्ने कार्यक्रम रहेको रास्वपाले जनाएको छ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, भिडियो, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #राष्ट्रव्यापी दबाब अभियान, #राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा, #रित्ता गाग्री प्रदर्शन, #समस्याग्रस्त २१ विकासे
तपाईको कमेन्ट लेख्नुहोस्