दुई पोका चाउचाउको पाँच सय रुपैयाँ, रेस्टुरेन्टलाई गरियो एक लाख जरिवाना

धादिङ । तपाईले कहिल्यै सुन्नुभएको छ एउटा चाउचाउको २ सय ५० रुपैयाँ पर्छ भन्ने । अहं २०–२५ रुपैयाँ पर्ने चाउचाउलाई २५० रुपैयाँ पर्ने कुरा पत्याउन पनि गाह्रो छ । तर, यो कुरा सत्य भएको खुलासा भएको छ । दुई वटा चाउचाउको पाँच सय रुपैयाँ असुल्ने धादिङको गल्छी गाउँपालिकास्थित ह्याम्लेट रेस्टुरेन्टलाई एक लाख जरिवाना गरिएपछि यो घटना बाहिर आएको हो ।
२० रुपैयाँ पर्ने दुई वटा वाइवाइ चाउचाउ पकाएर पाँच सय लिएपछि गल्छी–४ मासटारमा रहेको ह्याम्लेट रेस्टुरेन्टलाई जिल्ला अनुगमन समितिले एक लाख जरिवाना गरेको हो । पृथ्वी राजमार्ग आसपासमा महँगो मूल्य असुल्ने होटेल, किराना पसल र क्याफेलाई जरिवाना गराइएको जिल्ला अनुगमन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीले जानकारी दिए ।
उपभोक्ताबाट गुनासो आएपछि चाउचाउ पकाएर खाएको पैसा तिरेको बिलसहित बोकेर अनुगमनमा पुगेको टोलीले उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारबाही गरेको उनले बताए । ‘पकाएर दिएको दुई पोका चाउचाउको पाँच सय रुपैयाँ तिरेको होटेलले दिएको बिलसहित एक जना उपभोक्ताले जिल्ला प्रशासन कार्यालय धादिङमा उजुरी गरेका थिए । उजुरी परेपछि ‘ह्याम्लेटसहित गल्छीकै नवोदीप स्टोर र रिभर भ्यु क्याफेलाई १०–१० हजार जरिवाना गरिएको छ।
विगतका समयमा गरिएको अनुगमनका क्रममा दिएको निर्देशन पालना नगरेको र अधिकतम मूल्य लिएकाले जरिवाना गरिएको हो। उनले उपभोक्ताहरूलाई अधिकतम खुद्रा मूल्यभन्दा बढीमा सामान खरिद नगर्न अनुरोध गर्दै सोभन्दा बढीमा सामान बिक्री गरेको देखिएमा कालोबजारी र ठगी अभियोगमा मुद्दा चलाइने प्रस्ट पारेका छन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #चाउचाउको २ सय ५० रुपैयाँ, #दुई वटा चाउचाउ
तपाईको कमेन्ट लेख्नुहोस्