Techie IT
  • ९ वैशाख २०८२, मंगलबार
KhojPatrika

कांग्रेस महासमिति बैठकमा पेश भयो २०८४ मा एक्लै चुनाव लड्ने प्रस्ताव


काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकमा ५ वटा प्रतिबेदन पेश भएका छन् । सोमबारदेखि सुरु भएको महासमिति बैठकमा नेताहरुले आगामी चुनावमा कांग्रेसले गठबन्धन नगर्ने प्रस्ताव पेश गरेका छन् । गठबन्धन शब्दबारे असन्तुष्ट सभापति शेरबहादुर देउवा अडानबाट पछि हटेपछि गठबन्धन नगर्ने प्रस्ताव पेश भएको हो । बैठकमा पार्टीका उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काद्वारा प्रस्तुत नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाद्वारा प्रस्तुत साङ्गठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माद्वारा प्रस्तुत समसामयिक राजनीतिक प्रस्ताव पेस भएका हुन् ।

यस्तै पार्टीका प्रवक्ता एवं अर्थमन्त्री डा प्रकाशशरण महतद्वारा प्रस्तुत आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रस्ताव पेश गरेका छन् । महासमीति बैठकमा पहिलो पटक महामन्त्री गगन थापाले आफनो प्रस्तावमा सभापति शेरबहादुर देउवालाई पछि हट्न बाध्य बनाएको छ । कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनबारे अहिले नै प्रतिबेदनमा बोल्न नहुने बताएका थिए । महामन्त्री थापाको साङ्गठनिक प्रतिवेदनमा सहमति जुटेसंगै कांग्रेसले २०८४ सालको आम निर्वाचनमा गठबन्धन नगर्ने उल्लेख छ । जुन महासमिति बैठकमा पेश भएको छ ।

थापाले कांग्रेसका कार्यकर्ताले रुख चिह्नमै मतदान गर्ने सुनिश्चित गर्ने बताए । त्यस्तै पार्टीको महासमिति बैठकमा नीति प्रतिवेदन पेश गर्दै नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नयाँ दलहरुमा हालको शासकीय व्यवस्थाप्रति अपनत्व नभएको बताएका छन् । उनले नयाँ दलहरु दायित्व र जिम्मेवारीबाट पन्छिने, कुनै विषयमा प्रष्ट दृष्टिकोण नभएको तर लोकप्रियताका लागि जे पनि बोल्ने गरेको टिप्पणी गरे । उनले नयाँ दलहरुले सस्तो लोकप्रियताको नाममा समाजमा वितृष्णा र निराशाको राजनीतिक खेती गर्न प्रयत्न गरिरहेको पनि बताए ।

त्यस्तै अर्थमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले सहकारी क्षेत्रमा नियामक निकाय बन्न सकेमात्र यस क्षेत्रको समस्या समाधान हुने दाबी गरे । ‘नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा’ प्रतिवेदन प्रस्तुत गर्दै उनले नियामक निकाय ‘सेकेण्ड टाइयर इन्स्टिच्युसन’ गठन प्रक्रिया अघि बढिसकेको जानकारी दिए । त्यस्तै महामन्त्री विश्वप्रकाश शर्माले पनि जारी महासमिति बैठकमा समसामयिक राजनीतिक प्रतिवेदन प्रस्तुत गरे । शर्माले प्रतिवेदनमा लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र भएको उल्लेख गरेका छन् ।

महामन्त्री शर्माले संघर्ष र संविधानसभाको मार्गबाट आएको नेपालको वर्तमान संविधाननै सबै चुनौती हल गर्दै मुलुकलाई समुन्नतिको उँचाइमा पुराउने भरपर्दो माध्यम भएको बताए । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सोमबारदेखि सुरु भएको महासमिति बैठक फागुन १० गतेसम्म चल्नेछ ।

कांग्रेसको महासमिति बैठकमा भाग लिनका लागि देशैभरका महासमिति सदस्य र विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधि काठमाडौँ आइपुगेका छन् । बैठकमा दुई हजारभन्दा बढी प्रतिनिधिको सहभागिता रहेको छ । त्यस्तै महासमिति बैठक बाहिर हिन्दूराष्ट्र स्थापना अभियानमा ६ सय प्रतिनिधिहरुले हस्ताक्षर गरेको पनि दाबी गरिएको छ । महासमिति बैठक स्थलमा राखिएको हस्ताक्षर संकलन कक्षमा हिन्दूराष्ट्रको पक्षमा हस्ताक्षर अभियान जारी राखिएको छ ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #५ वटा प्रतिबेदन, #कांग्रेस महासमिति, #चुनावमा कांग्रेस

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं