लघुवित्त र मिटरब्याजी पीडितको रुवाबासी, हामीलाई कसले दिन्छ न्याय !

काठमाडौं । काठमाडौं केन्द्रित दोस्रो चरणको आन्दोलनमा होमिएका लघुवित्त तथा मिटरब्याज पीडितहरुले आफ्नो समस्या समाधान नभई घर नफर्कने चेतावनी दिएका छन् । उनीहरुले लघुवित्त तत्काल खारेज गर्न पनि सरकारलाई दबाब दिइरहेका छन् भने मिटरब्याज पीडितले पनि काठमाडौंमा प्रदर्शनदेखि सरकारबिरुद्ध नाराबाजी गरिरहेका छन् । काठमाडौंमा यतिबेला हजारौं नागरिक न्याय माग्दै कहिले सिंहदरबार त कहिले बालुवाटार धाइरहेका छन् । पीडितहरु कहिले निषेधित क्षेत्र संसद भवनभित्र प्रवेश गर्छन् त कहिले थाल ठटाउदै खाली खुट्टा पैदल हिडिरहेका छन् ।
खुल्ला चौरमा दिनरात बिताइरहेका पीडितका माग सम्बोधनका लागि सरकारले चासो नै देखाएको छैन् । दोस्रो चरणको आन्दोलन अन्तर्गत काठमाडौंको खुला चौरमा आश्रय लिएर बसेका उनीहरुले लघुवित्त संस्थाहरुको ऋण नतिर्ने जिकिर समेत गरेका छन् । आफ्ना सन्तानलाई समेत दुःख दिएकाले लघुवित्त संस्थाहरु सरकारले तत्काल खारेज गर्नुपर्ने गोरखा कुरिनटारकी कमला मगर बताउछिन् ।
अर्का पीडित अछामका अगष्ट अधिकारीले आफूहरुको माग पूरा नभई घर फर्कनसक्ने अवस्था नरहेको गुनासो गर्छन् । उनले नव सामन्तको रुपमा उदाएको लघुवित्त संस्था खारेज हुनुपर्ने, महिलाहरुमाथि लगाइएको सामूहिक ऋण मिनाह हुनुपर्ने, आम गरिव किसानहरुलाई निःशुल्क ऋण प्रदान गर्नुपर्ने लगायतका आफूहरुको नौ बुँदे माग सरकारले सम्बोधन गर्नैपर्ने जिकिर गरे ।
पीडितहरुले लघुवित्तीय संस्थाहरुले घरमा बस्न नदिएपछि आफूहरु बाध्य भएर दोस्रो पटक पनि आन्दोलनका लागि काठमाडौं आउनुपरेको गुनासो गरेका छन् । कञ्चनपुरका अमर नेपालीले गाउँका बस्न लघुवित्त संस्थाहरुले नदिएपनि महिला दिदीबहिनीहरुले समेत घर छोडेर आउनु परेको पीडा पोख्छन् ।
लघुवित्त पिडित जस्तै मिटरब्याज पीडितहरुको पनि आफूहरुको माग सम्बोधन गर्न सरकारले खासै चासो नदिएको गुनासो छ । उनीहरुले काठमाडौंको रत्नपार्कमा बिरोध प्रदर्शन गरिरहेका छन् । उनीहरुले माग सम्बोधनका लागि सरकारलाई दबाब दिन काठमाडौंमा दैनिक मौन जुलुस निकाल्ने कामलाई निरन्तरता दिएका छन् ।
मिटरब्याज पीडितहरुले गत माग १६ गतेबाट मिटरब्याज विरुद्धको न्याय मार्च झापाको काँकडभिट्टाबाट निकालेका थिए । अझै आफूहरुको माग सम्बोधन गर्न सरकार गम्भिर नभएको भन्दै थप संघर्षका कार्यक्रम ल्याउने तयारी उनीहरुको छ ।
क्याटेगोरी : अर्थ, जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #मिटरब्याजी, #लघुवित्त, #समस्या समाधान
तपाईको कमेन्ट लेख्नुहोस्