सामाजिक सञ्जालमा रेशम चौधरीको पत्रः प्रिय मैले तिमीलाई सम्झाउन सकिन !

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले श्रीमती रन्जितासँगको राजनीतिक विवाद फेसबुकबाट छताछुल्ल पारेका छन् । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई समर्थन गर्ने नगर्ने भन्ने विषयमा रेशम र रन्जिताबीच विवाद छ । यो विषयमा सम्झाउन आफू कैलालीबाट काठमाडौंसम्म आएर रन्जितासँग दुई घण्टा छलफल गरेको तर सम्झाउन नसकेको रेशमले फेसबुकमा उल्लेख गरेका छन् ।
‘म उनलाई (रन्जितालाई) सम्झाउन कैलालीबाट काठमाडौं आएकै हुँ । दुई घन्टा वार्ता गरेकै हुँ, उनी टस कि मस भइनन्,’ उनले लेखेका छन् । जुनसुकै गठबन्धनका पछि लाग्नु भनेको पार्टी डुबाउनु हो भन्दै रेशमले लेखेका छन्, ‘मैले तिमीलाई सम्झाउन सकिन प्रिय र आफूले जन्माएको बच्चाको घाँटी निमोठेर हत्या गर्न पनि सक्दैन । आज लोग्ने–स्वास्नीका कारण पार्टी डुब्ने भो भन्छन् । मलाई चिन्ता यसैमा छ, तिम्रो र मेरा कारण जनताको मन दुख्नु हुन्न ।
’ रन्जिताको अनुपस्थितिमा सोमबार कैलालीको टीकापुरमा बसेको संस्थापक केन्द्रीय सदस्यहरुको बैठकले नयाँ गठबन्धनमा नजाने र प्रतिपक्षमा बसेर प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन नगर्ने निर्णय गरेको थियो । तर, नाउपाकी अध्यक्ष एवम् संसदीय दलको नेता समेत रहेकी रन्जिताले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन ह्वीप जारी गरेकी छन् ।
कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकारमा भने रेशमको सहमतिमा नाउपाका मन्त्री नियुक्त भएका छन् । कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकारमा सहभागी हुन नहुने रन्जिताको मत छ । पार्टीभित्रको यो विवाद घर झगडा नभई राजनीतिक विषय भएको रेशमको भनाइ छ । रेशम सरकार निर्माणका लागि बन्ने जुनसुकै गठबन्धनको पछाडि लाग्न नहुने पक्षमा छन् ।
आफूहरुप्रति प्रचण्डको सहानुभूति भए पनि कसैको कृपाले नाउपाका नेता(कार्यकर्ताहरु रिहा नभएको रेशमले उल्लेख गरेका छन् । बरु दुई लाख ७८ हजार जनताको भोटको बलमा टिकापुर घटनामा बन्दीहरु रिहा भएको र रन्जिता पनि मन्त्री बनेको रेशमको भनाइ छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #नागरिक उन्मुक्ति पार्टी, #फेसबुकबाट छताछुल्ल, #राजनीतिक विवाद
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्