Techie IT
  • ९ वैशाख २०८२, मंगलबार
KhojPatrika

एक घण्टाभित्र श्रम स्वीकृति दिन श्रममन्त्री अर्यालको निर्देशन


काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले एक घण्टा भित्रमा श्रम स्वीकृति दिने गरी वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) मा सुधार गर्न निर्देशन दिएका छन् ।

आइतबार फेमिस प्रणाली आपूर्तिकर्ता, मन्त्रालयको सूचना प्रविधि शाखा र मन्त्रालयको सूचना प्रविधि परामर्शदातासँग छलफल गर्दै मन्त्री अर्यालले आगामी शुक्रवारदेखि एक घण्टाभित्र श्रम स्वीकृति दिन सकिने गरी प्रणालीको सुधार गर्न निर्देशन दिएका हुन् ।

वैदेशिक रोजगारीको काम कारबाहीलाई प्रविधिमैत्री बनाउन वैदेशिक रोजगार विभागले फेमिस प्रणाली प्रयोगमा ल्याएको हो । तर, प्रणालीमा समय–समयमा समस्या आउने गरेपछि श्रमिकहरू समस्यामा पर्ने गरेका छन् ।

प्रणालीमा आउने समस्याका कारण श्रमिकले समयमा नै श्रम स्वीकृति नपाउँदा थप आर्थिक भार खेप्नु परेको छ । यसै समस्यालाई समाधान गर्न मन्त्री अर्यालले फेमिस प्रणालीमा तत्काल सुधार गर्न निर्देशन दिएका हुन् ।

मन्त्रालयको सूचना प्रविधि परामर्शदाताले विगत एक सातादेखि फेमिस प्रणालीको निगरानी गरिरहेको छ । फेमिस प्रणालीको सफ्टवेयरको आपूर्तिकर्ता ई–बिमा कम्पनी हो भने हार्डवेयर आपूर्तिकर्ता दृष्टि टेक कम्पनी हो ।

सन् २०१६ मा विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकको तथ्याङ्क राख्न, अनलाइन टोकन र श्रम स्वीकृति प्रदान गर्नका लागि सफ्टवेयर खरिद गरेको थियो ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्