Techie IT
  • ६ वैशाख २०८२, शनिबार
KhojPatrika

संसदको ठूलो दल कांग्रेस र चौथो दल रास्वपा आमने–सामने


काठमाडौं । फेरिएको सत्ता समिकरणसँगै संसदमा कांग्रेसले एउटै बिषय उठाइरहेको छ उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा संसदीय छानविन समिति बनाउनै प¥यो । तर, सत्तारुढ दल लामिछानेमाथि छानविन समिति बनाउन तयार छैनन् । हरेक संसद बैठकको कांग्रेसको अहिलेको एजेण्डा नै रविलाई सहकारी प्रकरणमा डाम्न सकियो भने प्रचण्ड सरकार नै तलमाथि बनाउन सकिन्छ भन्ने ध्याउन्न छ । यहि सहकारी प्रकरणले कांग्रेस–रास्वपा आमने सामने भएका छन् ।

पछिल्ला बैठकमा केही लचक भएको भनिएको कांग्रेस बुधबार थप अल्टिमेटम सहित संसदमा प्रस्तुत भएको छ । महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्रीमाथि छानविन गर्न संसदीय समिति बनाउन काँग्रेसले दिएको अल्टिमेटम सकिएको घोषणा मात्रै गरेनन् चैत २७ गतेसम्मको अल्टिमेटम नै दिएका छन् । विगतमा संसद अवरुद्ध भएको र तोडफोड समेत भएको आफूहरुले देखेको भन्दै प्रतिपक्षको विनम्रता र शालिनता कमजोरी लाग्यो भनेर शर्माले प्रश्न गरेका छन् ।

महामन्त्री शर्माले मलेसियाको कानूनमा कुनैपनि देशको कोही अभियुक्त भएमा सम्बन्धित देशले कुटनैतिक प्रक्रियाबाट माग गरेमा सुपूर्दगी गर्न सकिने उल्लेख गरिएको पनि दाबी गरे । जिबि राई गृहमन्त्री रवि लामिछानेको सम्पर्कमा रहेको सूचना आफूहरुसँग रहेको उनको दाबी छ ।

कांग्रेसले संसदमा गृहमन्त्री लामिछानेलाई बोल्नै नदिने बताएपछि सभामुख देवराज घिमिरेले प्रधानमन्त्री र मन्त्रीहरूले संसद्मा बोल्न समय माग गर्दा उपलब्ध गराउने अभ्यास रहेको जवाफ दिएका छन् । कांग्रेसले आफ्नो र कार्यव्यवस्था परामर्श समितिको बैठकको सहमतिबेगर एजेन्डा नबनाउन आग्रह गरेपछि सभामुख घिमिरेले यस्तो बताएका हुन् ।

गृहमन्त्री लामिछानेलाई बोल्न नदिएपनि राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले गृहमन्त्रीलाई संसदमा जवाफ दिन नदिएर कांग्रेसले गलत गरेको बताए । गृहमन्त्रीमाथि लागेका आक्षेप र उठेका प्रश्नबारे जवाफ दिन नपाउनुले कांग्रेसको व्यवहार असहिष्णु र अनुदारवादी देखिएको बताए ।

आरोप लाग्नासाथ राजीनामा दिनुपर्ने र संसदीय छानबिन समिति गठन गर्ने नियम बनाउन कांग्रेस तयार हो भनी उनले प्रश्न गरेका छन् । करिव एक महिना हुनै लाग्यो कांग्रेस र रास्वपाका नेताहरुको सहकारी प्रकरणले जुहारी चलिरहेको छ । संसदीय समितिका बैठकमा गृहमन्त्री स्वीकार गरेको कांग्रेस संसदमा भने नमान्ने भन्दै घुर्की देखाइरहेको छ । अल्टिमेटम नै दिएर संसदका प्रस्तुत भएको कांग्रेसले अव के गर्छ त्यो भने हेर्न बाँकी छ ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #कांग्रेसले, #रवि लामिछाने, #सत्तारुढ दल

तपाईको कमेन्ट लेख्नुहोस्