Techie IT
  • ६ वैशाख २०८२, शनिबार
KhojPatrika

सुदूरपश्चिममा मुख्यमन्त्री दाबी पेस गर्ने अन्तिम दिन, सोडारीलाई समर्थन नगर्ने एमालेको घुर्की !


कैलाली । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका नेता दीर्घ सोडारीले मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका छन् । गत मंगलबार मुख्यमन्त्रीका लागि पेस गरिएका दुवै दाबी अस्वीकृत गर्दै प्रमुख नजिर मियाँले मुख्यमन्त्रीमा दाबी पेश गर्न आज साँझ ५ बजेसम्मको समय दिएका छन् ।

प्रदेश प्रमुखले दिएको समयअघि दाबी पेश हुने नेता सोडारीले बताए । यसअघि सोमबार नागरिक उन्मुक्ति पार्टी नाउपाका सांसदद्वय लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीको मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए । तर, दुवैको दाबी खारेज गर्दै प्रमुख मियाँले संविधानको धारा १६८ को (२) अनुसार अर्को दाबी पेस गर्न आज साँझ ५ बजेसम्म समय दिएका छन् ।

सत्ता गठबन्धनका शीर्ष नेताबीच सुदूरपश्चिमको नेतृत्व एकीकृत समाजवादीले गर्ने सहमति भएको छ। तर, एकीकृत समाजवादीका नेता सोडारीलाई मुख्यमन्त्रीमा समर्थन गर्न नसकिने एमालेले जनाएको छ । एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले केन्द्रको स्पष्ट निर्देशन नआएसम्म नेता सोडारीलाई समर्थन नगर्ने बताइरहेका छन् ।

सुदूरपश्चिममा एमालेका १० सांसद छन् । तर, एकीकृत समाजवादीको सचिवालय बैठकले सोडारीलाई मुख्यमन्त्रीमा अघि सारेपछि सत्ता गठबन्धनमा खटपट देखिएको छ । एकीकृत समाजवादीका ४ सांसद छन् ।

सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीका सांसदहरु पनि विभाजित छन् । सात सांसद रहेको सुदूरपश्चिममा उन्मुक्तिका अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी पक्षका सांसदहरु मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिन तयार भएपनि संरक्षक रेशमलाल चौधरी पक्षका सांसद भने लक्ष्मणकिशोर चौधरीलाई नै मुख्यमन्त्री बनाउनुपर्ने पक्षमा छन् ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #एकीकृत समाजवादी, #दीर्घ सोडारी, #मुख्यमन्त्रीमा दाबी पेश

तपाईको कमेन्ट लेख्नुहोस्