Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले च्याते रोष्ट्रममै मन्त्रालयको बजेट पुस्तिका !


काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमाथि सांसदहरुले निरन्तर आक्रोश पोखिरहेका छन् । बजेट विनियोजनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री बर्षमान पुनले प्राथमिकताका आधारमा भन्दा पनि नेता र मन्त्री अनुकुल बजेट बनाएको आरोप उनीहरुको छ । प्रधानमन्त्री प्रचण्डले बजेटमा असन्तुष्टि छैन् भनेको भोलिपल्टै संसदमा रोष्ट्रममा बजेट पुस्तिका च्यातिएको छ ।

सरकारले ल्याएको आर्थिक बर्ष ०८१–०८२ को बजेटमा मन्त्रीहरुले आफ्नो पार्टी नेता र निर्वाचन क्षेत्रलाई मात्रै प्राथमिकता दिएको भन्दै सत्तारुढ दलदेखि प्रतिपक्ष सांसदहरुले चित्त दुखाएका छन् । मंगलबार पनि मन्त्रालयत विनियोजन गरिएको बजेटमाथि सांसदहरुले टिकाटिप्पणी गरिरहेका छन् । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठको मन्त्रालयमा विनियोजन गरेको बजेटमा सांसदहरुले आपत्ति जनाएका छन् ।

मन्त्रालयगत बजेट विनियोजन छलफलमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका नै संसदको रोष्ट्रममै च्याते । उनले वार्षिक कार्यक्रम हेर्दा आक्रोश रोक्न नसकेको भन्दै पुस्तिका नै च्याते । अध्यक्ष लिङ्देनले मात्र होइन प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्री महासेठले बजेटमा कर्णालाई विभेद गरेको आरोप लगाए ।

उनले भौतिक मन्त्री नेपालको हो कि धनुषाको ? भन्दै प्रश्न समेत गरे । एमाले अध्यक्ष केपी शर्मा ओलीको जिल्ला झापा र धनुषामा गरेर १५ अर्ब ४७ करोड ४९ लाख विनियोजन गरिएको तर, कर्णालीको १० वटा जिल्लामा जम्मा ७ अर्ब ३६ करोड ४८ लाख १४ हजारमात्रै विनियोजन गरेर कर्णालीलाई विभेद गरिएको उनको आरोप छ ।

लिङ्देनले लगाएको आरोपलाई नेपाली कांग्रेसकी सांसद चन्दा चौधरीले समर्थन गरेकी छन् । उनले मन्त्रीहरुले पक्षपात गरेको र अध्यक्ष लिङदेनले पीडाका कारण भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुस्तिका च्यातेको भन्दै सो कामको समर्थन गर्ने बताइन् ।

बजेट पुस्तिकामा चित्त बुझाउने ठाँउ नरहेको र एकजनाले च्यातेपछि सबैले च्यातेजस्तो हुने उनको भनाइ छ । कांग्रेसका सांसद हृदयराम थानीले कर्णाली प्रदेशमा सडक निर्माणका लागि बजेट नछुट्याए संसद भवन र भौतिक पूर्वाधार मन्त्रालय घेराउ गर्ने चेतावनी दिए ।

बजेटमाथि के सत्ता पक्ष के प्रतिपक्ष सबैले बिरोध गरिरहेका छन् । संसदमा बिरोध गरिरहेको बजेट संशोधन गर्ने अवस्था देखिदैन । तर, सरकारले उनीहरुको चित्त कसरी बुझाउछ त्यो भने हेर्न बाँकी छ । बजेट आ–आफ्नो क्षेत्रमा पार्न खोज्नु स्वभाविक नै हो । नेपालमा जो सरकारमा हुन्छ उसैको हालीमुहाली हुने परम्परा विगतदेखि नै हुँदै आएको छ । मन्त्री बनेकाहरुको प्राथमिकतामा आफ्नो जिल्ला निर्वाचन क्षेत्रमा बजेट छुट्याइन्छ । तर, जहाँ प्राथमिकता हो त्यहाँ छुट्याइएको छैन् ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #अर्थमन्त्री बर्षमान, #पुष्पकमल दाहाल प्रचण्ड, #बजेट विनियोजन

तपाईको कमेन्ट लेख्नुहोस्