Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

कांग्रेस–एमालेको ७ बुँदे सहमति प्रधानमन्त्रीले सार्वजनिक गर्नुपर्छः गगन थापा


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस र एमालेबीच भएको सहमति प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसदबाट सार्वजनिक गर्नुपर्ने बताएका छन् । ४२ औं बीपी स्मृति दिवसको कार्यक्रममा उनले आफैं हस्ताक्षरकर्ता नै भएकाले ओलीले उक्त सहमति सार्वजनिक गर्नु उनको जिम्मेवारी भएको बताए ।

प्रधानमन्त्री ओलीले आइतबार प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् । ‘भोलि हाम्रो समर्थनमा बन्ने प्रधानमन्त्रीले विश्वासको मत लिँदै गर्दा, संसदमा आफ्नो विचारहरु राख्दै गर्दाखेरि‘ नेपाली कांग्रेस र नेकपा एमालेबीच ७ बुँदाका बीचमा सहझदारी भयो भनिएको छ । ७ बुँदा के हो भन्ने कुरा त्यहाँ पढेर सुनाउनुपर्छ भन्ने म ठान्छु’, थापाले भने ।

कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमति आफूहरुले पढेको र कांग्रेसले त्यसै अनुसार कार्यसम्पादन समिति र संसदीय दलबाट निर्णय गरेको थापाले बताए । ‘हामीले पढ्यौं, पढेकै आधारमा पार्टीभित्र निर्णय गर्‍यौं, पढेका आधारमा निर्णय गरेको हुनाले त्यसको मर्यादा राखौं भन्ने सोच्यौं । स्वयं त्यसको हस्ताक्षरकर्ता प्रधानमन्त्री बन्नुभएकाले उहाँको (संसदमार्फत सहमति सार्वजनिक गर्ने) जिम्मेवारी पनि हो, अवसर पनि हो र मलाई विश्वास पनि छ’, थापाले भने ।

संसदमा दुई ठूला र आपसी प्रतिस्पर्धामा रहेका दलहरुबीच नै समझदारी भएकामा विभिन्न आशंका रहेको भन्दै उनले तर समझदारी भइसकेकाले त्यसको पालना गर्नुपर्ने र कामबाट यो समझदारीलाई पुष्टि गर्नुपर्ने बताए । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चकचक नगरेको भए कांग्रेस र एमालेबीच सहमति नहुने थापाले बताए । उनले अबको दुई वर्ष कांग्रेसले ढुक्कसँग प्रधानमन्त्री ओलीलाई काम गर्न दिने बताए ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #७ बुँदे सहमति, #कांग्रेस र एमाले, #गगनकुमार थापा

तपाईको कमेन्ट लेख्नुहोस्