Techie IT
  • ६ वैशाख २०८२, शनिबार
KhojPatrika

ओलीलाई दुई तिहाइ सांसदको समर्थन,संसदमा चल्यो आरोप–प्रत्यारोप !


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा दुई तिहाइ सांसदको समर्थन पाएका छन् । प्रतिनिधिसभाका २७५ सदस्यमध्ये आइतबार ओलीले राखेको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा १८८ सांसदले मतदान गरे । विपक्षमा ७४ मत पर्‍यो भने एक मत तटस्थ रह्यो । संसद्‌मा आइतबार २६३ जना उपस्थित थिए ।

प्रधानमन्त्री ओलीलाई नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदले मत दिएका छन् । नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र एकीकृत समाजवादीले भने विपक्षमा मत दिएका छन् । नेपाल मजदुर किसान पार्टीका एक मात्र सांसद प्रेम सुवाल तटस्थ रहे ।

असार १७ गते मध्यरातमा नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको ७ बुँदे सहमति सार्वजनिक भएको छ । प्रतिपक्ष दलले सहमति सार्वजनिक गर्न माग गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र देउवाबीच आलोपालो प्रधानमन्त्री बन्ने हस्ताक्षर गरेको सम्झौता सार्वजनिक गरेका हुन् । विश्वासको मतबारे छलफलमा सत्ता र प्रतिपक्षमा रहेका दलहरुले आरोप–प्रत्यारोप गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको ७ बुँदे सहमति संसदमा सार्वजनिक गरेका छन् ।

प्रतिपक्ष दलहरुले कांग्रेस र एमालेले मध्यरातमा गरेको सहमति सार्वजनिक गर्न माग गर्दै आएका थिए । विश्वासको मत लिदा प्रधानमन्त्री ओलीले दुई दलबीच भएको ७ बुँदे सहमति सार्वजनिक गरेका हुन् । सहमति अनुसार पहिलो चरणमा दुई वर्ष सरकारको नेतृत्व एमाले अध्यक्ष ओलीले गर्ने र त्यसपछि २०८४ मंसिरको चुनावसम्म कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्नेछन् । प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले थिति र विधि बसाल्न नसकेको टिप्पणी गरे ।

प्रचण्डकै कारण संसदका दुई ठूला दल कांग्रेस र एमाले मिलेर सरकार बनाउनु परेको उनको भनाइ छ । अघिल्लो सरकारले थिति र विधि बसाल्न नसकेका कारण नयाँ सरकार बन्नुपरेको प्रधानमन्त्री ओलीको प्रष्टीकरण छ । प्रधानमन्त्री ओलीले राखेको विश्वासको मत सम्बन्धि प्रश्तावमाथिको छलफलमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन गर्दा सबै राजनीतिक दलहरुबीच संवाद र सहमति गरेर अघि बढ्ने कुरामा आफूहरु स्पष्ट रहेको बताए ।

देशको विकासका लागि ठूला दल मिल्नुको विकल्प नभएको उनको भनाई छ । नेकपा एमालेका सचिव गोकर्ण बिष्टले माओवादी केन्द्रलाई सत्ताबाट बाहिरिना साथ लोकतन्त्र र संविधान खतरा पर्छ भन्ने भ्रम त्याग्न आग्रह गरे । स्थिर सरकार निर्माण गर्नको लागि कांग्रेस एमाले मिलेको उनको दाबी छ ।

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले भ्रष्टाचारका फाइल खोल्दा कांग्रेस र एमाले मिलेको आरोप लगाए । उनले ओली नेतृत्वको सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनको क्षेत्रमा काम गर्न नसक्ने दाबी गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू गृहमन्त्री रहेका बेला अनुसन्धान गरेका व्यक्तिलाई मन्त्रिपरिषदमा पुरस्कार दिइएको दाबी गरे । भुटानी शरनार्थी, बाल मन्दिर र स्काउटको फाइल खोल्दा पुरस्कार दिँदै मन्त्री पद दिइएको उनको दाबी छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्दा आफू खुसी भएको तर विश्वासको मत भने नदिने बताए । विगतमा एमालेसँग दुईवटा चुनावमा सहकार्य गरेको भन्दै लिङ्देनले आफूहरूले भोट दिएका व्यक्ति प्रधानमन्त्री बनेको भन्दै खुसी व्यक्त गरे । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओलीले विश्वासघाती राजनीति गरेको भन्दै कटाक्ष गरे ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग विगतमा ओलीले स्वर्ग गएपनि नर्क गएपनि सँगै जाने भनेर आश्वासन दिएपनि बिचबाटोबाटै छाडेर अर्को बाटो लागेको भन्दै नेपालले कटाक्ष गरेका हुन् ।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन गर्दैमा राजनीतिक स्थिरता नहुने बताए । उनले कांग्रेस–एमालेसहित ठूला दलका नेताहरुलाई आफ्नो आचरण र प्रवृत्ति सुधार्न आग्रह गरे ।

पूर्व वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले देशमा भ्रष्टाचार र बिचौलियाले तलसम्म जरो गाडेको बताए । आफूले हिजो शिक्षा मन्त्रालय अन्तर्गत पर्ने सानोठिमीमा काम गराउनको लागि ५ हजार घुस दिएको उनले बताएका थिए ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #केपी शर्मा ओली, #दुई तिहाइ सांसद

तपाईको कमेन्ट लेख्नुहोस्