Techie IT
  • ५ वैशाख २०८२, शुक्रबार
KhojPatrika

मन्त्रालयको कुर्सीमा गञ्जीमै भेटिए मन्त्री दीपक मनाङे, चौतर्फी आलोचना


कास्की । गण्डकी प्रदेश सरकारमा राजीव गुरूङ (दीपक मनाङे) मन्त्रालयको कुर्सीमै गञ्जीमै भेटिएका छन् । छैटौं पटक मन्त्री भएका मनाङे मन्त्रालयको कुर्सीमै गञ्जीमा बसेको फोटो यतिबेला भाइरल भएको छ । खगराज अधिकारीलाई साथ छोडेर विश्वासको मत दिएपछि मनाङेलाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भौतिक पूर्वाधार मन्त्रालयमै दोहोर्‍याएका थिए ।

गुण्डागर्दी पृष्ठभूमिबाट राजनीतिमा आएर दोस्रो पटक पनि स्वतन्त्र सांसद जितेका मनाङेले छैटौं पटक मन्त्री हुने रेकर्डमात्र बनाएका छैनन्, विवादित गतिविधिले पनि उनलाई छोडेको छैन् । मनाङे गञ्जीमा मन्त्रालयको कार्यकक्षमा भेटिएपछि सामाजिक सञ्जालमै चर्को आलोचना भइरहेको छ ।

भौतिक पूर्वाधार मन्त्रालयमा गञ्जीमै भेटिएका मनाङेले अपशब्दसमेत बोल्ने, कार्यकक्षमै मदिरापान गर्ने गरेका छन् । केही दिनअघि गञ्जीमै कार्यकक्षमा बसेर मदिरा समेत खाएर अपशब्द बोलेको कर्मचारीले नै गुनासो गरेका छन् । मन्त्रीको सामान्य मर्यादाकोसमेत ख्याल नगरी गञ्जीमै कार्यकक्षमा बसेका मनाङेले सेवाग्राहीलाई समेत त्यसरी नै भेटेका छन् ।

शुक्रबारमात्र राइड सेयरिङलाई वैध बनाएर नियमन गर्दै खुला गर्न माग गर्न पुगेको समूहसँग भेटेका मनाङेले आफूले सिन्डिकेटको अन्त्य गरेर सबै चलाउने भन्दै रक्सी खाएर जान अफर गरे ।

यातायात व्यवासायी महासंघले रातो नम्बर प्लेटले पनि यात्रु ओसार्न पाउने कार्यविधि नल्याउन बिहीबार ४८ घन्टे अल्टिमेटम दिएका थिए । त्यसको भोलिपल्ट राइड सेयरिङ एपमार्फत चलेका राइडर्स ध्यानाकर्षण गराउन मन्त्री मनाङेसँग पुग्दा उनले ट्याक्सी व्यवसायी लगायतले आफूलाई ब्याकमेलिङ गर्न खोजेको भन्दै आफू ढुक्कले रक्सी खाएर सुत्ने बताएका थिए । अहिले भने गञ्जीमै कार्यकक्षमा भेटिएका छन् । सोही पहिरनमा उनीले आगन्तुकलाई समेत भेट्दै आएका छन् ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #गञ्जीमै भेटिए मन्त्री, #गण्डकी प्रदेश, #छैटौं पटक मन्त्री, #दीपक मनाङे, #राजीव गुरूङ

तपाईको कमेन्ट लेख्नुहोस्