राजनीतिक अस्थिरताका कारक साना कि ठूला दल ? थ्रेसहोल्ड बढाउने तयारी !

काठमाडौं । मुलुकको राजनीतिक अस्तित्वमा रहेका केही साना दलहरु छन् । जसले सरकार फेरबदलदेखि राजनीतिक विषयमा निर्णायक भूमिका खेल्दै आइरहेका छन् । संसददेखि सडकसम्म यी दलहरु सक्रिय देखिन्छन् । सरकार फेरबदल, राजनीतिक भागबण्डासम्म यी दलहरुले दबाब र प्रभाव जमाइरहेका छन् । यी दलहरुकै कारण मुलुक अस्थिरताको भुमरीमा परेको भन्दै दुई ठूला दल अहिले सत्ता सहकार्यमा छन् ।
साना दलहरुका राजनीतिक दोकान नै बन्द गरेर सहकार्यमा आएका नेपाली कांग्रेस र नेकपा एमाले दुई दलीय प्रणालीको अभ्यासमा छन् । तर, तत्कालका लागि त्यो सम्भव भने छैन । नयाँ सरकार बनेको महिना दिन भएको हुँदैन नेतृत्व फेरबदलको कसरत सुरु भइहाल्छ । सरकारले हनिमुन मनाउन नपाउँदै सत्ता फेरबदल हुँदा त्यसको असर देश र जनताले भोग्नुपरिरहेको छ । कतिसम्म भने राजनीतिक दलहरुका गतिविधि मुलुक बनाउनेभन्दा पनि सत्ता निर्माण गर्ने र भत्काउनेमा केन्द्रित छन् । जसको मुख्य केन्द्रमा छन् साना राजनीतिक दल ।
संसदको तेस्रो नेकपा माओवादी केन्द्रदेखि चौथो राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दलहरु यतिबेला सत्ताबाट बाहिर छन् । सत्तामा पुग्न यी दलहरुले अनेक जालझेल गर्दै आएका छन् । सत्ताको स्वाद चाख्न नयाँ भनिएको रास्वपाले पनि जनताको इच्छाविपरीत गतिविधि अघि बढायो । जनताले दिएको मतलाई जनताका मुद्दा सम्बोधनमा प्रयोग गर्नुपर्नेमा राजनीतिक बार्गेनिङको हतियार बनाउँदा यो दलप्रति पनि वितृष्णा बढ्न थालेको छ ।
कहिले एमाले त कहिले कांग्रेसको काँध चढेर सत्ता शयर गरेका प्रचण्डले रास्वपालाई समेत दुई पटक सत्तामा पु¥याए । यस्तो अवस्था सिर्जना भएपछि मुलुकका दुई ठूला दल एकै कित्तामा उभिएर सत्ता सहकार्य गर्न बाध्य भए । साना दलहरुले राजनीतिक शक्तिका आँडमा बार्गेनिङ गर्दा राजनीतिक अस्थिरता बढेपछि स्थिरताका लागि एक ठाउँमा उभिएको भनिदैछ । यसले साना दलहरुलाई चिढ्याएको छ ।
संविधान संशोधनको रटान लगाइरहेका कांग्रेस एमालेले साना दलका राजनीतिक दोकान बन्द गर्न थ्रेसहोल्ड बढाउनेगरी गतिविधि अघि बढाइरहेका छन् । अहिले संसदमा राष्ट्रिय दल बन्न प्रत्यक्षतर्फ ३ प्रतिशत थ्रेसहोल्ड कटाउनुपर्ने हुन्छ । कांग्रेस–एमालेबीच अहिले भइरहेको बहसअनुसार थ्रेसहोल्ड १० प्रतिशतले बढाउने तयारी छ । यदि त्यसो भयो भने साना दलका लागि आगामी निर्वाचन निकै कठिन हुने देखिन्छ । तर, त्यसका लागि संविधान संशोधन गर्नुपर्ने हुन्छ ।
कांग्रेस एमालेले चाहेर मात्र संविधान संशोधन हुने अवस्था छैन । संघीय संसदका दुबै सदनबाट दुई तिहाईको समर्थन जुट्यो भने मात्र संविधान संशोधन हुने हो । जुन अहिलेको स्थितिमा सम्भव छैन । थ्रेसहोल्ड बढाएर साना दलका गतिविधिमाथि अंकुश लगाउन ठूला दलमाथि उत्तिकै चुनौती छ ।
मुलुकमा बढ्दै गएको राजनीतिक अस्थिरताको मुख्य जस सबै दलले लिनुपर्ने हुन्छ । किनकि कुनै न कुनै रुपमा सबै दलहरु यस गतिविधिमा संलग्न हुँदै आएका छन् । अबको मुख्य बाटो राजनीतिक स्थिरता भएको हुनाले त्यसतर्फ दलहरु सचेत हुन जरुरी छ । मुलुकमा स्थिरता भयो भने त्यसको लाभ मुलुक र जनताले नै लिनेछन् । जसले दलप्रति वितृष्णा होइन, आशाको सञ्चार गराउनेछ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #कांग्रेस र नेकपा एमाले, #थ्रेसहोल्ड बढाउने तयारी, #दुई दलीय प्रणाली, #मुलुकको राजनीतिक, #साना दलहरु
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्