Techie IT
  • ६ वैशाख २०८२, शनिबार
KhojPatrika

संसदमा फेरि उठ्यो जनयुद्ध र हिंसाको बिषय, एमाले–माओवादी केन्द्रको आरोप–प्रत्यारोप !


काठमाडौं । प्रतिनिधिसभा बैठकमा नेकपा एमाले र माओवादी केन्द्रबीच सशस्त्र द्वन्द्व ‘हिंसा’ थियो कि ‘जनयुद्ध’ भन्ने बिषयमा बाँझाबाँझ परेको छ । सांसद योगेश भट्टराईले अघिल्लो साता माओवादीको सशस्त्र संघर्षलाई हिंसा भनेपछि यतिबेला पनि दुई दलबीच चर्काचर्की नै परेको थियो । बुधबारको बैठकमा हिंसा शब्द असंसदीय नभएको भन्दै सभामुख देवराज घिमिरेले सुनाएपछि माओवादीले आपत्ति जनाएको छ ।

माओवादीले चलाएको दश बर्षीय सशस्त्र द्वन्द्व ‘हिंसा’ थियो कि ‘जनयुद्ध’ भन्ने विवादमा प्रतिनिधिसभा फेरि फस्दा सदनको नियमित कारबाही नै अवरुद्ध भएको छ । अघिल्लो साता संसदमा बोल्ने क्रममा एमाले सांसद योगेश भट्टराईले माओवादी हिंसाका कारण जलविद्युत आयोजनाहरूको काम अघि बढ्न नसकेको भनेपछि माओवादीले आपत्ति जनाएको थियो । त्यसक्रममा भट्टराईले व्यक्त गरेको शब्द संसदको रेकर्डबाट हटाउन माओवादीले माग गरेको थियो ।

सभामुख देवराज घिमिरेले संसद सचिवालयलाई सो शब्द संसदीय मर्यादाभित्र पर्ने वा नगर्ने छानबिन गर्न निर्देशन दिएका थिए । सभामुख घिमिरेले संसदको नियमाली, कार्यव्यवस्था परामर्श समितिको बैठक र संसद सचिवालयको सुझावका आधारमा उक्त शब्द असंसदीय नभएको जानकारी गराए ।

सचिवालयले बुधवार हिंसा शब्द संसदको अभिलेखबाट हटाउन नपर्ने भनेपछि सभामुखले अबदेखि सदनमा बोल्दा र शब्दहरू प्रयोग गर्दा सचेत रहन दुवै पक्षका सांसदलाई रुलिङ गरेका थिए । तर, माओवादी केन्द्रका सांसदहरूले सभामुखको रुलिङ अश्वीकार गरेपछि सदनको कारबाही अघि बढ्न सकेन ।

माओवादीले सभामुखको रुलिङलाई अश्वीकार गर्दै सदन चल्न नदिएपछि एमालेका सांसदहरु प्रतिवादमा उत्रिए । एमालेका रघुजी पन्त र महेश बर्तौलाले माओवादीको सशस्त्र द्धन्द्धका क्रममा हिंसा र मानवताविरोधी अपराधहरु भएको शान्ति सम्झौतामै स्वीकार गरिएको बताएका थिए । माओवादीले सभामुखको रुलिङ समेत नमान्नु गैरसंसदीय अभ्यास भन्दै एमालेले आपत्ति जनायो ।

प्रतिपक्ष माओवादी केन्द्रका नेताहरुले बोलेपछि फेरि सत्तारुढ एमालेका सांसदहरुले पनि बोल्दा संसदमा झनै जुहारी चल्यो । सांसद–सांसदबीचमै आरोप–प्रत्यारोप चलेपछि सभामुख घिमिरेलाई सम्हाल्न नै गाह्रो भयो । दुवै पक्षका सांसदहरूबीच बाँझाबाँझ चलेपछि सभामुखले सदनको कारवाही अघि बढ्न नसक्ने भन्दै भदौ ३० गतेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित गरेका हुन् ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #‘जनयुद्ध’, #‘हिंसा’, #दश बर्षीय सशस्त्र

तपाईको कमेन्ट लेख्नुहोस्