दलीय भागबण्डापछि नेपाल रेडक्रसमा सहमति, ५६ सदस्यीय तदर्थ समिति

काठमाडौं । सत्तारुढ र विपक्षी दलहरुबीच सहमति भएपछि नेपाल रेडक्रस सोसाइटीमा देखिएको विवाद अन्त्य भएको छ । कात्तिक ३ मा रेडक्रसमा हाल क्रियाशील रहेका दुई समानान्तर समितिबीच समायोजन भएको छ । नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले भागबण्डा गरेका छन् ।
कांग्रेस निकट सुदर्शनप्रसाद नेपाल अध्यक्ष रहनेछन् भने एमालेनिकट चन्द्रकला कार्की उपाध्यक्ष र एकीकृत समाजवादी निकट भूपतिलाल श्रेष्ठ महामन्त्री रहने सहमति भएको छ । पदाधिकारीका सबै दललाई भाग पुर्याउने गरी सहमति गरिएको छ । रेडक्रसमा ३३ जनाको निर्वाचित कार्यसमिति र दुई जना मनोनित गरेर बढीमा ३५ जनाको समिति हुने विधानले व्यवस्था गरेको छ ।
अघिल्लो कार्यकालको अध्यक्ष र समाज कल्याण परिषद्ले तोकेको एक जना गरी दुई जना मात्रै मनोनित गर्ने व्यवस्था छ । उक्त व्यवस्था विपरीत ५६ जनाको तदर्थ समिति बनाइएको छ । तदर्थ समितिमा सबैभन्दा ठूलो हिस्सेदारी कांग्रेसले पाएको छ । केन्द्रीय समितिमा कांग्रेसबाट अध्यक्ष, उपाध्यक्ष, उपमहामन्त्री र सदस्य गरी २५ जना पद पाएका छन् ।
कांग्रेसबाट पदाधिकारी बन्नेहरुमा प्राध्यापक सुर्दशनप्रसाद नेपाल अध्यक्ष, सुरेन्द्रसिंह ऐन उपाध्यक्ष र मनोजकुमार थापा उपमहामन्त्री बनेका छन् । भागबण्डा गर्ने सहमति जुटेपछि एमाले समर्थित पूर्वअध्यक्ष डा. नेत्र तिम्सिनाले अदालतमा पेश गरेको अवहेलनाको मुद्दा फिर्ता लिएका छन् ।
तिम्सिना अध्यक्ष हुँदा उपाध्यक्षको भूमिकामा रहेकी चन्द्रकला कार्कीलाई सोही पदमा कायम राख्ने सहमति जुटेको छ । सत्ताको नेतृत्व गरेको एमालेलाई पदाधिकारीमा कार्यकारी भूमिका भने दिइएको छैन । एमालेबाट कार्यसमितिमा १७ जनाले भाग पाउँदा पदाधिकारीमा कार्की मात्रै छिन् ।
अर्को प्रतिपक्ष दल एकीकृत समाजवादीलाई महामन्त्री र उपकोषाध्यक्ष सहित ६ जना केन्द्रीय सदस्य दिइएको छ । एकीकृत समाजवादी निकट भूपतिलाल श्रेष्ठ महामन्त्री बनेका छन् ।
चार दलमा सहमति बनेपछि अध्यक्ष नेपाल, उपाध्यक्ष राधा नेपाली, महामन्त्री श्रेष्ठ र उपमहामन्त्री मनोजकुमार थापा अन्तर्राष्ट्रिय रेडक्रसको कार्यालय स्वीटजरल्याण्डको जेनेभा गएका छन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #दलीय भागबण्डा, #रेडक्रसमा सहमति
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्