Techie IT
  • ९ वैशाख २०८२, मंगलबार
KhojPatrika

शिक्षामन्त्रीको राजीनामाले निम्त्याएको प्रश्न ? शिक्षकको सडकमै बास,प्रधानमन्त्रीको छैन् आस


काठमाडौं । विद्यालय शिक्षा ऐन माग गर्दै शिक्षकहरुले राजधानी केन्द्रित आन्दोलन गरेको २० दिनमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । नेपाल शिक्षक महासंघ र मन्त्रालयबीच बारम्बार संवाद भएपनि सहमति जुट्न नसकिरहेको बेला शिक्षामन्त्री भट्टराईबाट राजीनामा आएको हो । मन्त्रिपरिषदबाट शिक्षकहरुको मागबारे आवश्यक निर्णय हुने अपेक्षा गरिएकै बेला मन्त्रीले राजीनामा दिएर बाहिरिएकी छन् । प्रधानमन्त्री निवास पुगेर उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई शिक्षकहरुको मागमा बेवास्ता गरेको भन्दै राजीनामा पत्र थमाएकी हुन् ।

शिक्षक महासंघसँग बारम्बार संवाद भइरहेको भएपनि निचोड निस्कन नसकेपछि शिक्षामन्त्री भट्टराई घेराबन्दीमा परेकी थिइन् । उनी गत असार ३१ मा शिक्षामन्त्रीमा नियुक्त भएकी थिइन् । कास्की क्षेत्र नम्बर–२ बाट प्रत्यक्ष निर्वाचित भएर उनी संघीय सांसद बनेकी थिइन् । शिक्षामन्त्री बन्नुअघि उनी प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिकी सदस्यको रूपमा सक्रिय थिइन् । शिक्षा ऐन जारी नभएसम्म घर नफर्किने अडान लिएका शिक्षकहरुकै कारण भट्टराई बाहिरिनुपरेको छ ।

शिक्षकका माग पूरा गर्छौ भन्दै सार्वजनिक रुपमा बोलेपनि प्रधानमन्त्री ओलीले तदारुकता नदेखाएको आरोप लागिरहेको छ । सोमबार मात्रै प्रधानमन्त्री ओलीले देशको ढुकुटीले धान्न सक्ने र सम्भव हुने मागलाई राज्यले सम्बोधन गर्ने भन्दै अविलम्ब वार्तामा बसेर विद्यालय फर्कन आन्दोलनरत शिक्षकहरूलाई आग्रह गरेका थिए । प्रधानमन्त्री ओलीले अहिलेको सरकार दमनकारी नभई लोकतान्त्रिक भएकाले ट्रेड युनियनको अधिकारको रक्षासहित पेसागत क्षेत्रका जायज मागलाई सम्बोधन गरिने बताए ।

संसदीय समितिमा विचाराधीन विद्यालय शिक्षा विधेयकका लागी यत्रा शिक्षकहरु काठमाडौं आउनु पर्ने जरुरी नभएको बताउदै उनले विद्यालयमा फर्केर भर्ना अभियान शुरु गर्न तथा एईईको कापी समेत जाच गर्न आग्रह गरे । प्रधानमन्त्रीले विद्यालयमा फर्कन शिक्षकहरुलाई आग्रह गरेपनि शिक्षकहरु भने ऐन नलिएसम्म घर नफर्कने अडानमा छन् । बिगत २० दिनदेखि काठमाडौंको सडकमा उनिहरुको प्रदर्शन जारी छ ।

विगतमा सरकारले सम्झौता गर्ने तर पूरा नगर्ने गरेकाले यस पटक शिक्षा ऐन जारी नगरेसम्म विद्यालय नफर्किने अडान शिक्षकहरुको छ । शिक्षकहरु शैक्षिक हड्ताल गरेर आन्दोलनमा होमिएका कारण लाखौ विद्यार्थीको भविष्य अन्यौल भएको छ ।

सोमबार त आफूलाई ललितपुरको गोदावरीस्थित सरस्वती माध्यमिक विद्यालयका अभिभावक बताउने सनोज महतले आन्दोलनकै बीचमा गएर आन्दोलनको विरोध जनाए । आफ्नो छोरीको भर्ना हुन नपाएपछि सडकमा आएको बताउदै उनले शिक्षकहरुलाई आन्दोलनको स्वरुप फेर्न समेत आग्रह गरे । महतले शिक्षकहरुलाई आन्दोलनको स्वरुप फेर्न आग्रह गर्दै गर्दा शिक्षकहरु भने आफुहरु रहरले नभइ बाध्यताले आन्दोलनमा आएको बताएका थिए ।

कतिपय शिक्षकले त आफ्नो आन्दोलनमा घुसपैठ भएको भन्दै महतलाई हातपात समेत गरे । सरकारले आगामी बजेट अधिवेशन वैशाख १२ गते बोलाएको छ । शिक्षा विधेयक जारी गर्न र शिक्षकहरुका माग पूरा गर्नका लागि अधिवेशन बोलाइएको सरकारले स्पष्ट पारेपनि सरकारको प्रतिवद्धतामा शिक्षकहरु विश्वस्त छैनन् । अझ आफ्ना माग सम्बोधनको सट्टा शिक्षामन्त्रीले नै राजीनामा दिएपछि थप समस्या निम्तिएको छ ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #शिक्षामन्त्रीको राजीनामा

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं