Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

कोरोना संक्रमणदर घटेन,परिक्षण गरिएका मध्ये दैनिक २० प्रतिशतमा कोरोना पुष्टि

तेस्रो लहर आउन सक्ने बिज्ञको चेतावनी


काठमाडौं । कोरोना परिक्षणको आधार अनुसार अहिले पनि संक्रमणदर २० प्रतिशतभन्दा माथि नै छ । यसको सीधा अर्थ हो, कोरोना संक्रमणको जोखिम अझै घटेको छैन् । अहिले जनस्वास्थ्यका मापदण्डको पालना हुन छाडेका छन् । यही कारण कोरोना भाइरसको संक्रमण पनि बढ्न थालेको छ । सार्वजनिक स्थानमा भिडभाड जन्य क्रियाकलाप बढेको कारण फेरि महामारी फर्कने हो कि भन्ने चिन्ता बढेको छ । पछिल्ला दिनमा कोरोना संक्रमणको संख्या भुसको आगो झैँ बढ्न थालेको छ । विभिन्न अस्पतालका आइसियु तथा भेन्टिलेटरमा सिकिस्त विरामीले भरि भराउ छन् ।

कोरोनाको दोस्रो लहरको सुरुवाती दिनमा झैँ अस्पतालको प्राङगण मै उपचार गराउनुपर्ने अवस्था आइ सकेको छैन । तर, कोरोना संक्रमणको उपचारका लागि आउनेहरु संख्या बढ्दो छ । शिक्षण अस्पतालका कोभिड व्यवस्थापनका संयोजक डा. निरज वमले मुलुकमा अपेक्षा विपरित कोरोना संक्रमित संख्या नघटेको जानकारी दिए । त्यसमाथि पछिल्ला दिनमा परिक्षणको संख्यामा कमी आउँदा समेत संक्रमितको संख्या थपिन थालेपछि नेपाल फेरि संक्रमणको महामारी फर्कन सक्ने हो कि भन्ने भय बढ्न थालेको छ । डा.बमले तेस्रो लहर आएको खण्डमा अवस्था निकै भयावह हुन सक्ने चिन्ता समेत व्यक्त गरेका छन् ।

कोरोना महामारीलाई चटक्कै बिर्सिएर शहर बजारमा भीडभाड र राजनीतिक नारा जुलुस बढ्न थालेका छन् । आम नागरिकले पनि कोरोनाबाट मुलुक पूर्णरुपमा बाहिर आए झैँ गरेर गतिविधि बढाउन थालेका छन् । भीडभाड जन्य क्रियाकलापलाई रोक्नु पर्ने जिम्मेवारी पाएको निकायबाट समेत जनस्वास्थ्यका मापदण्डको अवज्ञा भएका देखिन्छ । कोरोना संक्रममणको जोखिमलाई बेवास्ता गर्दै यसरी भिडभाड बढ्दा संक्रमणलाई निम्तो दिइ झैँ हुने जनस्वास्थ्य विज्ञ डा.वासुुदेव पाण्डे बताउँछन् । पछिल्लो समय परिक्षणलाइ साँघुरो बनाउनु र कन्ट्याक्ट ट्रेसिङ नहुनुले कोरोना संक्रमणलाई बढावा दिइ जस्तो देखिएको पाण्डे बताउँछन् ।

अझै पनि बढ्दो कोरोना संक्रमणलाई वेवास्ता गर्ने हो भने नेपालले चाँडै नै भयावह अवस्थाको समाना गर्नुपर्ने बताउदै उनले सम्भावित जोखिमबाट आँखा नचिम्लिन आग्रह गरेका छन् । अहिले पीसीआर परीक्षण गरिएकामध्ये दैनिक २५ प्रतिशतलाई संक्रमण पुष्टि भइरहेको छ । यो हप्ता थप ३ वटा जिल्लामा ५ सय भन्दा बढी सक्रिय संक्रमित देखिएका छन् । एक हप्ता अघि ९ वटा जिल्लामा ५ सय भन्दा बढी सक्रिय संक्रमित थिए । तर, यो हप्ता सो संख्या बढेर १२ जिल्ला पुगेको छ । नेपालमा कोभिड–१९ महामारीको व्यवस्थापन र तेस्रो लहरको तयारीका लागि भन्दै जनस्वास्थ्य विज्ञहरुले बुधबार नै सरकारलाई १८ बुँदे सुझाव समेत पेश गरेका छन् ।

भौगोलिक परिस्थितिका कारण केही महिना भित्रै कोरोनाको तेस्रो लहर आउने सम्भावना उच्च रहेको जनाउँदै जनस्वास्थ्य विज्ञहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई यथाशीघ्र व्यवस्थापनका जुट्न सुझाव दिएका छन् । उनीहरुले १८ वर्षभन्दा माथिका नागरिकलाई यथाशिघ्र खोप लगाउन तथा खोप कार्यक्रममा निजी क्षेत्रलाई सरकारको सहयोगीका रुपमा संलग्न गराउन आग्रह गरेका छन् । साथै खोप कार्यक्रम कम भीडभाड हुने गरी खुल्ला स्थानमा संचालन गर्न पनि सुझाव दिएका छन् । साथै अस्पतालको बेड, एचडीयू, आईसीयू र भेन्टिलेटरको संख्या बढाउन पनि प्रधानमन्त्री देउवालाई उनीहरुले सुझाव दिएका छन् ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #कोरोना परिक्षण

तपाईको कमेन्ट लेख्नुहोस्