चीनद्वारा अमेरिकाका थप अधिकारी र व्यापारीमाथि प्रतिवन्ध घोषणा, विचलित नहुने अमेरिकाको प्रतिक्रिया

काठमाडौं । चीनले कैयौँ अमेरिकी नागरिक र संस्थाहरू माथि प्रतिबन्धको घोषणा गरेको छ । हङकङस्थित चिनियाँ अधिकारीहरूलाई प्रतिबन्ध लगाइएको जवाफमा चीनले पनि प्रतिवन्धको घोषणा गरेको हो । चीनको उक्त सूचीमा पूर्वअमेरिकी वाणिज्य मन्त्री विल्बर रस पनि रहेका छन् । अमेरिकी उपविदेश मन्त्री वेन्डी सेरमन चीनको भ्रमणमा निस्कनु केही दिनअघि बेइजिङको उक्त निर्णय सार्वजनिक भएको हो ।
हङकङमा गरिएको सुरक्षा दमनमा भूमिका खेलेको भन्दै अमेरिकाले त्यहाँस्थित चिनियाँ अधिकारीहरू माथि प्रतिबन्ध लगाएको थियो । वाशिङ्टनले आफनो व्यापारिक समुदायलाई हङकङमा काम गर्दा जोखिम बढिरहेको भन्दै चेतावनी दिएको छ । अघिल्लो वर्ष भएका ठूला प्रदर्शनहरूपछि चीनले हङकङमा नयाँ सुरक्षा कानुन कार्यान्वयनमा ल्याएको थियो । त्यसले देशको विभाजन, देश द्रोह र विदेशी शक्तिहरूसँग गठ जोड गर्नेविरुद्ध आजीवन कारावाससम्मको सजाय तोकेको छ ।
शुक्रवार चिनियाँ विदेश मन्त्रालयले हालै अमेरिकाले ’हङकङको व्यावसायिक वातावरण धमिल्याउने गरी औचित्यहीन’प्रतिबन्ध घोषणा गरेको भन्दै त्यसले अन्तर्राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत मान्यताको चरम उल्लङ्घन गरेको जनाएको छ । उसले पूर्वमन्त्री रस सहित अमेरिकाका सात नागरिक र निकायमाथि प्रतिबन्ध लगाइने पनि जानकारी दिएको छ ।
पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको वाणिज्य मन्त्रीका हैसियतमा रसले पूर्वअनुमति नलिइ अमेरिकी फर्महरूसँग कारोबार गर्न पाउने चिनियाँ फर्महरूको संख्या विस्तार गरेका थिए । त्यसबाट ह्वावेई र जेडटीई जस्ता अग्रणी चिनियाँ कम्पनी प्रभावित भएका थिए । चीनको प्रतिबन्धमा पर्नेमा ह्युमन राइट्स वाचकी चीननिर्देशक सोफी रबिन्सन, यूएस–चाइनाइकोनोमिक एण्ड सेक्युरिटि रिभ्यू कमिसनका अध्यक्ष क्यारोलिन बार्थलमीउ र इन्टरनेशनल रिपब्लिकन इन्स्टिच्यूटका एडम किङसमेत रहेका छन् । ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले चीनले बदलामा चालेको कदमले अमेरिका ‘विचलित नहुने’ बताएकी छन् ।
क्याटेगोरी : विदेश, समाचार
ट्याग : #चीनद्वारा अमेरिका, #प्रतिबन्धको घोषणा
तपाईको कमेन्ट लेख्नुहोस्