Techie IT
  • ६ वैशाख २०८२, शनिबार
KhojPatrika

लमजुङका सहकारीकर्मीको आह्वानः सहकारीको छवि सुधार्न सदस्यलाई सचेत बनाऔं


लमजुङ । जिल्लाका सहकारीकर्मीहरुले सहकारी क्षेत्रको छवि सुधार गर्नका लागि सहकारीका सदस्यहरुलाई केन्द्रीत गरेर शिक्षा लगायत क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय सहकारी बैंक लिमिटेड दमौली शाखाले आइतवार लमजुङको बेशीशहरमा आयोजना गरेको अन्तरक्रियामा सहभागीले सहकारीका आधार स्तम्भ सदस्यहरु भएकाले उनीहरुको क्षमता विकास र अभिबृद्धिका लागि जोड दिएका हुन ।

सहकारीको जग सदस्यहरु हुन, तर सदस्यलाई सहयोग पुग्ने, सदस्यहरुको क्षमता विकास हुने, उनीहरुको आर्थिक सामाजिक विकासमा भन्दा पनि कतिपय सहकारीहरुले नाफा लगायत ब्याजमा केन्द्रीत भएका कारण समस्या भएको सदस्यहरुले बताएका थिए । सहभागी सहकारीकर्मीहरुले वित्तीय क्षेत्रमा देखिएको ब्याज बढाउने कार्यले सहकारीमा समस्या आएका भन्दै सहकारी अभियानका राष्ट्रिय तथा केन्द्रीय सहकारी संघ र बैंकहरुले राज्यसंग लविङका क्षेत्रमा प्रभावकारी काम गर्नु पर्नेमा जोड दिएका थिए ।

सहकारीका केन्द्रीय निकायले राज्य सञ्चालकहरुसंग राम्रो लविङ गर्न नसको सहभागीहरुको गुनासो थियो । सन्दर्भ ब्याजदर, कर्जा सूचना केन्द्र लगायतका विषयमा अभियानको ध्यान पुग्न नसकेको भन्दै उनीहरुले सहकारीका सदस्यहरुलाई फाइदा हुने कानुनका विषयहरुमा ध्यान दिन आग्रह गरेका छन् । कार्यक्रममा प्रमुख अतिथि बेशीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले सहकारीको विश्वास भनेको सदस्यको सेवा हो भन्ने कुरालाई स्थापित गर्न आग्रह गरेका थिए ।

जिल्ला सहकारी संघ लमजुङका अध्यक्ष विजय गुरुङ, जिल्ला वचत तथा ऋण सहकारी संघका अध्यक्ष दुर्गाभक्त धमाला, जिल्ला कफी सहकारी संघका अध्यक्ष विश्व प्रसाद अधिकारी, जिल्ला वचत तथा ऋण सहकारी संघका उपाध्यक्ष यशोदा रिमाल लगायतले सहकारीका समस्या, समाधानका उपाय र लमजुङमा सहकारी बैंकको शाखा सञ्चालनका लागि बैंकको संयोजनमा जिल्लाका सहकारी अभियानकर्मीहरुको सहयोग रहने प्रतिवद्धता जनाएका थिए ।

सहभागीहरुले राखेका जिज्ञासाहरुको बारेमा बैंकका अध्यक्ष के.बी. उप्रेतीले सहकारीमा देखिएका समस्या समाधानमा अभियानका तर्फबाट गरिएका प्रयासहरु, स्थानीय तहमा अभियानले गर्नु पर्ने समन्वयका विषय लगायत सहकारीको प्रद्धर्वनमा बैंकको भूमिका बारेमा जानकारी गराएका थिए । जिल्लाका विभिन्न सहकारी संघ संस्थाका १ सय जनाको सहभागिता रहेको थियो ।

यसैबीच लमजुङ जिल्लामा राष्ट्रिय सहकारी बैंकको शाखा सञ्चालनका लागि समन्वय गर्नका लागि राष्ट्रिय सहकारी बैंक जिल्ला स्तरीय समन्वय उपसमिति लमजुङ गठन गरिएको छ । उपसमितिको संयोजकमा जिल्ला सहकारी संघ लमजुङका अध्यक्ष विजय गुरुङ तथा सदस्यहरुमा लेखा संयोजक महेन्द्रलाल श्रेष्ठ, जिल्ला वचत तथा ऋण सहकारी संघका अध्यक्ष दुर्गाभक्त धमला, जिल्ला कफी सहकारी संघका अध्यक्ष विश्व प्रसाद अधिकारी, वचत तथा ऋण सहकारी संघका उपाध्यक्ष यशोदा रिमाल, सञ्जालका अध्यक्ष तारा घले, रामबाबु श्रेष्ठ रहेका छन् ।


क्याटेगोरी : अर्थ, देश/दुनियाँ, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #सदस्यहरुको क्षमता विकास, #सहकारी क्षेत्र, #सहकारीका सदस्यहरु

तपाईको कमेन्ट लेख्नुहोस्